बुटवलको मुख्य बजारमा पार्किङको समस्याका कारण व्यापार व्यवसाय खस्किँदै गएको छ । बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अमरपथ, विपि चोक, राममन्दिर लाईन (राम पथ), संगम पथ, जेसीस चोक, हाटबजार लाईन लगायतका बजार क्षेत्रमा सवारी साधन पार्किङ गर्ने स्थान स्थान छैन ।
जसका कारण यो क्षेत्रमा बजार गर्न आउनेहरुको संख्या दिनप्रतिदिन घट्दै गएको अमरपथ स्थित खनाल साडिका सञ्चालक करुण खनालले बताउनु भयो । ‘एक जना मेरो नियमित ग्राहक सपिङको लागि आउँदा गाडि पार्किङ गर्ने ठाउँ पाउनु भएनछ ।’ उहाँले भन्नुभयो–‘यहाँ घुम्दाघुम्दा पार्किङ गर्ने ठाउँ नपाएर उहाँ मणिग्राम पुग्नु भएछ ।’ अमरपथका पुराना व्यापारी रजनी ईम्पोरिमका सञ्चालक महेश्वर श्रेष्ठले पनि विगतको तुलनामा व्यापार खस्किँदै गएको बताउनु हुन्छ । ‘हाम्रा ग्राहकहरु गाडी मोटरसाईकलमा आउनु हुन्छ, यहाँ पार्किङ गर्ने ठाउँ छैन ।’ उहाँले भन्नुभयो–‘पार्किङकै समस्याका कारण हाम्रा नियमित ग्राहकहरु पनि आउन छाड्नुभएको छ ।’
पार्किङ समस्याका कारण मात्रै यहाँको व्यापार खस्किएको भने होईन । सिमावर्ती सुनौली बजारमा नेपाली उभोक्ताको लाईन लागेका कारण पनि यहाँका व्यापार खस्किँदै गएको उहाँ बताउनु हुन्छ । व्यापार खस्किँदै गएपछि व्यवसाय धान्न पनि धौ धौ भएको अधिकाँश व्यापारी व्यवसायीको भनाई छ ।
बुटवलको मुख्य बजार क्षेत्रमा मात्रै नभएर अन्यत्र पनि पार्किङको समस्या बढ्दै गएको छ । बुटवलमा जनघनत्व बढ्दै जाँदा खाली जग्गा पनि सकिँदै गएको छ भने सवारी साधनको संख्या बढ्दै गएको छ । यस कारणले बुटवलमा पार्किङको समस्या बढ्दै गएको बुटवल उपमहानगरपालिकामा नगरप्रमुख खेलराज पाण्डेय पनि स्वीकार गर्नुहुन्छ । ‘हामीले पार्किङ समस्याको समाधान गर्न सकेनौं भने यहाँको व्यापार अन्यत्र स्थानान्तरण हुनेछ ।’ नगरप्रमुख पाण्डेले भन्नुभयो–‘यो समस्या समाधानको लागि हामीले केही सोंच बनाएका छौं, यसमा सबैको साथ र सहयोग चाहिन्छ ।’
बुटवलमा पार्किङको समस्या समाधानको लागि पुराना भवनहरुलाई पुनः निर्माण गरी अन्डरग्राउण्ड २ तला र माथिल्लो भागमा समेत पार्किङ गर्न मिल्ने गरी नयाँ भवन निर्माण गर्ने सोँच बनाएको उहाँले जानकारी गराउनु भयो । त्यसको लागि पिपिपि मोडल उपयुक्त हुने उहाँको भनाई छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा अहिले अस्थायी पार्किङको व्यवस्था मिलाईएको छ । मुख्य बजारको पार्किङ समस्या समाधानको लागि लुम्बिनी प्रादेशिक अस्पतालको जग्गामा बनाईएको अस्थायी पार्किङ क्षेत्र भन्दा अगाडि सवारी साधनलाई प्रवेश गर्न नदिने र त्यस क्षेत्रका व्यापारी व्यवसायीहरुले पनि सामान लोड अनलोड गर्ने काम रातीको समयमा गर्ने गरी व्यवस्था मिलाउने हो भने केही हदसम्म पार्किङ समस्या समाधान हुने स्थानीय शम्भु श्रेष्ठ बताउनु हुन्छ ।