गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बृद्धि गरिरहँदा उद्यागी व्यवसायीलाई मार परेको र आम सर्वसाधारणलाई त्यसको प्रत्यक्ष असर गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकलाई आग्रह गर्नुभएको छ ।
बैंकहरुले जथाभावी ब्याजदर वृद्धि गरिरहेको भन्दै उद्योगी व्यवसायी आन्दोलित भइरहेका बेला गृहमन्त्री बालकृष्ण खाँणले तत्काल ब्याजदर वृद्धि रोक्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभयो ।
रुपन्देही क्षेत्र नम्बर ३ का नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका गृहमन्त्री खाँणले बैंकहरुले ब्याजदर वृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने चेतावनी दिनुभयो ।
पाँच दलीय सत्ता गठबन्धनले बिहिबार आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले ब्याजदर बृद्धिले मुलुकको अर्थतन्त्रमै असर गरिरहेको पनि बताउनु भयो । उहाँले निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन राष्ट्र बैंकलाई आग्रह गर्नुभयो । गृहमन्त्री खाँणले भन्नुभयो–‘मैले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग पनि कुरा गरिसकेको छु, तत्काल ब्याज वृद्धि रोक्न भनेको छु’, उनले भने, ‘निर्वाचन आचारसंहिताले तत्काल सरकार एक्सनमा जान सक्दैन । तर, ब्याज वृद्धि रोकिएन भने सरकारले ऐन संशोधनका कदम पनि उठाउन बाध्य हुनेछ ।’
निजी क्षेत्रसँगै मिलेर मुलुकको अर्थतन्त्र बलियो गराउने राज्यको दायित्वको भएको उहाँले उल्लेख गर्नुभयो ।