रुपन्देही क्षेत्र नं. २ बाट एमाले उम्मेद्वार विष्णुप्रसाद पौडेलले निर्वाचन लक्षित आफ्नो घोषणा पत्र सार्वजनिक गर्नु भएको छ । घोषणा पत्र सार्वजनिक गर्दै प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार पौडेलले कालिगण्डकी डाईभर्सन परियोजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रुपन्देही क्षेत्र नं. २ मा प्रतिनीधि सभा सदस्य पदमा एमालेले केन्द्रीय उपाध्यक्ष पौडेल र प्रदेश सभा सदस्य पदमा (क) बाट केन्द्रीय सदस्य लिला गिरी र (ख) बाट प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलाई उम्मेवार बनाएको छ । एमालेलाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । आईतबार बुटवलमा आयोजना गरिएको घोषणा पत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता तथा राप्रपाका नेता पूर्व गृहमन्त्री निरन्जन थापा, प्रदेश अध्यक्ष प्रदिप उदय सहित कार्यकर्ताहरु सहभागि हुनुहुन्थ्यो ।
२०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट विजयी हुनु भएका एमाले उम्मेदवार पौडेलले उक्त निर्वाचनमा पनि कालिगण्डकी डाईभर्सनलाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा राख्नुभएको थियो । यो परियोजनालाई पुन अगागि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको हो । चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष समेत रहनु भएका पौडेलले त्यहाँ देखिएको अवरोध तथा व्यवधान हटाएर कालिगण्डकी डाईभर्सन परियोजना अगाडि बढाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पौडेलको घोषणा पत्रमा लेखिएको छ–‘सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्त्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण कार्य अघि बढाइनेछ ।’
बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने उहाँले बताउनु भयो । उहाँको घोषणा पत्रमा आफ्नो निर्वाचन क्षेत्रमा भन्दा बढी आसपासका निर्वाचन क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिईएको छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवम् पुरातात्विक महत्त्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन्, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।
यस्तै, बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका शहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोड्ने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । यसअघि पनि यसै क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका पौडेलले प्रतिबद्धता पत्रमार्फत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक ६ लेन सडकमा स्तरोन्नति गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तै बुटवललाई विकासको पाठशाला बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुटवलको चार्मिङलाई अक्षुर्ण राख्ने उहाँको प्रतिवद्धता छ । सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशीघ्र सम्पन्न गरिने जनाइएको छ ।
निजीक्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने उल्लेख गरिएको छ । पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक शहरमा पुनःरुत्थान तथा विकसित गर्ने उल्लेख गरिएको छ । जितगढी र नुवाकोट गढीको उत्खनन्, संरक्षण र विकास गरी आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।