रुपन्देही क्षेत्र नं. २ : एमालेले विरासत जोगाउला या जनमुक्तिले ईतिहास रच्ला ?

1.3K

रुपन्देही क्षेत्र नं. २ : एमालेले विरासत जोगाउला या जनमुक्तिले ईतिहास रच्ला ?

एमालेको प्रतिष्ठा जोडिएको रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदमा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेद्वार बनाएको छ । २०७४ सालमा भएको प्रतिनीधि सभा निर्वाचनमा दोव्वर मत अन्तरले निर्वाचित पौडेलका सामु यो निर्वाचन त्यति सहज भने देखिँदैन । उक्त निर्वाचनमा नेपाली काँग्रेसका नेता युवराज गिरी उहाँका मुख्य प्रतिस्पर्धी हुनुहुन्थ्यो । तर अहिले नेपाली काँग्रेस सहितको सत्ता गठबन्धन दलहरुको तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा प्रतिस्पर्धामा हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा तेस्रो भएको जनमुक्ति पार्टीबाट केवि पुन प्रतिस्पर्धामा हुनुहुन्थ्यो । यो निर्वाचनमा जनमुक्तिले केन्द्रीय कार्यकारी अध्यक्ष थापालाई उम्मेद्वार बनाएको छ ।
एमाले उपाध्यक्ष पौडललाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन छ भने जनमुक्ति पार्टीका उम्मेदवार थापालाई सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको साथ रहेको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. २ मा पर्ने बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन् । स्थानीय तहको निर्वाचनमा यहि सत्ता गठबन्धनका दलहरुको चुनावी तालमेल थियो । त्यस्तै एमालेको विभाजन र अहिले यो गठबन्धनमा राष्ट्रिय जनमुक्ति पार्टी पनि थपिएका कारण सत्ता गठबन्धनका दलका उम्मेदवारहरुको जीत निश्चित रहेको नेपाली काँग्रेस क्षेत्र नं. २ का कार्यवाहक सभापति पर्शुराम ढकाल बताउनु हुन्छ ।
त्यस्तै २०७४ को निर्वाचनमा एमालेलाई माओवादी केन्द्रको साथ थियो । अहिले माओवादी केन्द्र सत्ता गठबन्धनमा छ । वितेको ५ वर्षमा पौडेलले यहाँको विकासमा राम्रोसंग ध्यान नदिएको, यहाँ भएका राम्रा कार्यालयहरु बाहिर गएको, सुकुम्बासीका समस्या जस्ताको त्यस्तै रहेको लगायतका कारणले यो पटक आफूहरुले मत पाउनेमा सत्ता गठबन्धन ढुक्क छ ।
त्यस्तै एमालेलाई मुख्य रुपमा मतदाता ढाटेको आरोप छ । अघिल्लो निर्वाचनमा एमालेले प्रदेशको स्थायी मुकाम बुटवलमा राख्ने बाचा गरेको थियो । तर प्रदेशको राजधानी बुटवलबाट सार्ने प्रस्ताव एमालेले नै गर्यो ।
सत्ता गठबन्धनबाट क्षेत्र नं. २ को प्रतिनीधि सभा र प्रदेश सभा सदस्य पदका तीनैजना उम्मेदवारको अनुहार नयाँ हो । प्रतिनीधि सभामा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा सहित प्रदेश सभा सदस्य पदमा (क) बाट नेपाली काँग्रेसका युवा नेता महासमिति सदस्य दीर्घबहादुर (कुमार) केसी र (ख) बाट माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य बामदेव क्षेत्री उम्मेदवार हुनुहुन्छ ।
प्रतिनीधि समा सदस्य पदमा एमाले उम्मेदवार पौडेल र प्रदेश सभाका उम्मेदवारहरु यस अघि ५ वर्षे कार्यकाल पुरा गरिसकेका र सत्ता गठबन्धनबाट प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु नयाँ अनुहार भएका कारण पनि एमालेबाट रुष्ट मतदाताको लागि सहज विकल्प भएको नेपाली काँग्रेसका क्षेत्रीय सचिव प्रजापाल गिरी बताउनु हुन्छ । चुनावी प्रचारप्रसारमा मतदाताले देखाएको सकारात्मक प्रतिक्रियाले सत्ता गठबन्धनका दलहरुलाई थप उत्साहित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्य गोविन्द केसी बताउनु हुन्छ ।
त्यसो त सत्ता गठबन्धनले सुरुमा प्रतिनीधि सभा सदस्य पदमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङलाई उम्मेदवार बनाएको थियो । गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्ध र जनमुक्ति बिच प्रतिनीधि सभामा प्रतिनीधि सभामा जनमुक्तिका उम्मेदवारलाई समर्थन गर्ने र प्रदेश सभा र जिल्लामा अन्य क्षेत्रमा पनि जनमुक्तिले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भएको हो । सोही अनुसार आफूहरु चुनावी अभियानमा होमिएको र मतदाताको प्रतिक्रिया पनि सकारात्मक पाएको राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेमबहादुर थापा बताउनु हुन्छ ।
यो निर्वाचन राष्ट्रिय जनमुक्ति पार्टीले नयाँ इतिहास रच्ने अवसरको रुपमा लिएको छ भने सत्ता गठबन्धनमा आवद्ध दलहरु एमालेले किल्लाको रुपमा लिएको क्षेत्र नं. २ लाई पल्टाउने राम्रो अवसरको रुपमा लिएका छन् । त्यस्तै एमाले उम्मेदवार पौडेललाई व्यक्तिगत रुपमा जित निकाल्नु त छ नै भन्दै आएको गढ जोगाउनु पर्ने चुनौती पनि छ ।
यो निर्वाचन क्षेत्रमा २०६४ सालको संविधान सभा निर्वाचन यता एमालेले हार व्यहोर्नु परेको छैन । अहिले हारेमा व्यक्तिगत रुपमा पौडेललाई क्षेती त हुने नै छ, संगसंगै त्यो भन्दा ठूलो क्षेती एमालेले व्यहोर्नु पर्ने छ । स्थानीय चुनावमा काँग्रेसले जीतेपनि त्यपछि पनि तिनाउमा धेरै पानी बगिसकेको उम्मेद्वार पौडेल बताउनु हुन्छ । यो निर्वाचन पौडेलका लागि धेरै सहज भएको एमालेले महसुस गरेको छ । सत्ता गठबन्धको प्रमुख दल नेपाली काँग्रेसले आफ्नो दलको उम्मद्वार नपाएका कारण एमालेको जित सुनिश्चित भएको एमाले नेताहरु बताउँछन् ।
एउटा हाईट बनाएको नेतालाई जिताउँदा यहाँको विकासका कामहरु सहज रुपमा अगाडि बढ्नेछन् भन्ने कुरा मतदाताले राम्रोसंग बुझेको एमाले बुटवल नगर कमिटी अध्यक्ष किशन ज्ञवाली बताउनु हुन्छ ।