बालकृष्ण खाँणले चुनाव जित्नै पर्ने किन ?

1.3K

बालकृष्ण खाँणले चुनाव जित्नै पर्ने किन ?

डिल्लीनारायण पाण्डेय /

नेपाली काँग्रेसका संस्थापक महामानव विश्वेश्वरप्रसाद कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठाबाट प्रभावित भई राजनीतिमा प्रवेश गरेका बालकृष्ण खाँण नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलको कुशल नेतृत्व गरेका हक्की, निडर, निर्भीक नेता मानिन्छन् । पूर्व प्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले अत्यन्तै विश्वास गरेका र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका त सबैभन्दा प्यारा र अति विश्वासी पात्र हुन् खाँण । पुरानो पुस्ता मात्रै होइन नयाँ पुस्ताका पनि आशा र भरोसाका व्यक्ति मानिन्छन् खाँण । उपसभापति धनराज गुरूङ्, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, नैनसिंह महर लगायत थुप्रै युवा नेताले उत्तिकै आदर र सम्मान गर्छन् खाँणलाई । विद्यार्थी नेता हुँदा होस् या तरूण दलको नेतृत्व हाँक्दा होस् बालकृष्ण खाँणले इमान्दार, कर्तव्यनिष्ठ र स्वच्छ छवि बनाएका थिए । पटक–पटक मन्त्री बनेका खाण आजसम्म कुनै भ्रष्टाचार नगरेको र आफ्नो कर्तव्य कुनै हालतमा पूरा गर्ने एउटा छुट्टै पहिचान बोकेका नेता हुन् ।
कसैको चाकरी र चाप्लुसी गरेर अर्थात् कसैलाई रिझाएर नेता बनेका होइनन् खाँण । आफ्नै क्षमता र फरक नेतृत्वशैलीले गर्दा लोकप्रिय बनेका हुन् । जुनसुकै मन्त्रालय सम्हाल्दा पनि उनी सफल मन्त्रीका रूपमा चिनिएका छन् । रक्षा मन्त्रालयलाई साँच्चिकै मन्त्रालय जस्तो बनाएको खाणले हो भन्ने बहस आज पनि सैनिक गणहरूमा सुन्ने गरिन्छ । सिंचाइ मन्त्री हुँदा कृषि क्षेत्रमा पु¥याएको योगदान र किसानहरूले पाएको सुविधा आज पनि स्मरणयोग्य छ ।
पटक–पटक ओली सरकारले संसद विघटनको प्रपन्च रचेपछि देशलाई दुर्घटना हुनबाट बचाउन जुन गठबन्धन बन्यो, त्यो समीकरण बनाउनमा खाँणको अहो भूमिका छ र आजसम्म गठबन्धन टिकाइराख्न पनि खाण नै सक्रिय छन् । यदाकदा गठबन्धन गर्नु उपयुक्त होइन भन्ने विचारहरू पनि काँग्रेसमा नसुनिने होइन । तर वर्तमान अवस्थामा गठबन्धनको विकल्प नै थिएन । ओलीजी र राष्ट्रपतिजीको मिलेमतोमा देश अकर्मण्यतातर्फ धकेलिँदै जाँदा विश्वमा असफल राष्ट्रको सूचिमा पुग्न सक्ने अवस्थालाई मध्येनजर गरी यो गठबन्धन बन्न पुगेको हो । र अझै पनि ओलीजीका चिल्ला कुरा र फुस्रे यथार्थले पुनः भड्खालोमा पु¥याउने जोखिम उत्तिकै विद्यमान छ । त्यसैलाई आत्मसात् गरी व्यक्तिवादी चरित्र होइन दलीय विचारलाई अंगाल्नुपर्छ र आपसी एकता र मेलमिलापको बाटोबाट अगाडि बढ्नुपर्छ भन्ने गिरिजाप्रसाद कोइरालाको सिद्धान्तमै मुलुक अझै केही समय हिंड्नुपर्ने परिस्थिति छ । सोही अनुरूप नै गठबन्धन अगाडि बढेको छ । पार्टीहरू बिच यसलाई सौहार्द्रपूर्ण वातावरण गर्ने काममा बालकृष्ण खाँणको भूमिका महत्वपूर्ण छ । प्रचण्ड र माधव नेपाल लगायत गठबन्धनका नेताहरूको पनि उत्तिकै विश्वासिलो पात्र हुन् खाँण ।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचन नेपालकै इतिहासमा आजसम्मकै सबैभन्दा सौहार्द्रपूर्ण निर्वाचन हो । जसको प्रशंसा प्रतिपक्ष दलहरूले पनि गरेका थिए । चुनावमा शान्ति सुरक्षाको विषय अत्यन्तै पेचिलो मानिन्छ । गृहमन्त्रीको चुस्त व्यवस्थापकीय पक्षले गर्दा अति नै सरल र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न भएको थियो अब आसन्न मंसिर ४ गतेको निर्वाचनलाई पनि भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व हो र मुख्य भूमिका गृहमन्त्रालयको नै हो । यसमा बालकृष्ण खाँण अनुभवले खारिएका नेता भएकाले पनि हुनसक्छ सबै ढुक्क भएको देखिन्छ । खाँण आफै प्रतिनिधि सभाको उम्मेदवार हुन् । उनी रूपन्देही क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ उठेका छन् । आफ्नो प्रचार–प्रसारलाई भन्दा पनि सिंगो देशको निर्वाचनतिर केन्द्रित खाँणले रूपन्देहीमा गरेको विकासको कारणले गर्दा आफू जित्नेमा विश्वस्त देखिन्छन् । रूपन्देहीको समग्र विकासमा अत्यधिक खटेका बालकृष्ण खाँण लोकप्रिय नेता हुन् । उनकै जोडबलमा बुटवललाई लुम्बिनी प्रदेशको राजधानी घोषणा गरिएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अत्यन्तै ठूलो प्रयास गरी खाँणले राजधानी बुटवल कायम गरेका थिए । अहिले दाङ्तर्फ सारिएको छ जुन कुरा यहाँका उद्योगी, व्यापारी, व्यवसायी तथा आममानिसलाई नै मन परेको छैन । यदि बालकृष्ण खाण रूपन्देहीबाट पराजित हुनु परेमा यस क्षेत्रको विकासको गति नै अवरुद्ध हुने सबैले बुझेका छन् । अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण कार्य उनकै पहलमा सम्पन्न भएको हो । सम्पन्न त भयो, जे जसरी संचालनमा आउनुपर्ने हो, त्यो हुन सकेको छैन । यसलाई गति दिन पनि खाँण नै चाहिन्छ भन्ने कुरा रूपन्देही बासीलाई राम्रोसँग ज्ञान छ । करोडौं खर्चेर बुटवलमा बनेको बुटवल मण्डप कसरी संचालन गर्ने भन्ने कार्यविधि बन्न सकेको छैन । भएको राजधानी दाङ्तिर सरेको छ । यी सबैलाई समेटेर अगाडि बढ्ने नेता नेता बालकृष्ण खाँण हुन् भन्ने यहाँका उद्योगी, व्यापारी, व्यवसायी तथा हरेक मतदाताले आत्मसात् गरेका छन् । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको वृहत्तर विकास आजको आवश्यकता हो । तिनाउ नदीबाट एकातर्फ सिंचाइ र अर्को पर्यटकीय विकासको मूल फुटाउन नसक्ने हो भने यहाँ बनेका होटल, विद्यालय र अन्य संरचनाहरू खण्डहर जस्तै बन्न पुग्छन् । तसर्थ बालकृष्ण खाँणले जित्नु रूपन्देहीका लागि अनिवार्य जस्तै छ । यहाँका मानिसको दैनिक दिनचर्या मात्रै होइन, बुटवल, देवदह, भैरहवा, लुम्बिनी सांस्कृतिक, सैनामैना लगायतका सहरहरूलाई सभ्य र व्यवस्थित बनाउन नसक्ने हो भने भोली पश्चाताप बाहेक केही नहुन सक्छ ।
सत्ता समीकरणका कारण बालकृष्ण खाँण केही ओझेलजस्तो पर्दा राजधानी दाङ् पुगेको छ । भोलि यहाँका अन्य संरचनाहरूको अवस्था पनि दयनीय बन्न सक्छ । भाषणमा भन्दा पनि काममा रमाउने नेताका रूपमा परिचित बालकृष्ण खाण विकासका पर्याय हुन् । अलि हक्की स्वभावका, कम बोल्ने तर बोलेका कुराहरूलाई जसरी पनि टेकाउने स्वभावका खाँण विकासप्रेमी नेता हुन् । पछिल्लो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको उमेरसँगसँगै उत्तराधिकारीको खोजी भइरहँदा खाँण निर्विकल्प जस्तै देखिन्छन् । र हिजोआज भावी प्रधानमन्त्रीकै रूपमा पनि खाणको बहस हुन थालेको छ । उनी पाका, परिपक्क उमेर र अनुभवले खारिएका नेता हुन् । काँग्रेस पार्टीभित्र विभिन्न गुट उपगुट छन्, शेरबहादुर देउवाका सबैभन्दा नजिकका पात्र हुन् तापनि उनले जुन गुटका भए पनि इमान्दारहरूलाई स्थान दिनुपर्छ भन्ने विचार बोक्ने नेता हुन् । अरू दलहरूसँग पनि असल मित्रवत स्वभावले गर्दा उनी देशका आशालाग्दा मात्रै होइनन् भर पर्दा नेता हुन् । देशले माग्दा जुन भूमिकामा पनि राम्रो नतिजा निकाल्न सक्ने उनको खुबी छ । पार्टीकै विभिन्न भूमिकामा पनि अब्बल देखिएका खाँण देशकै बागडोर सम्हाल्न पर्दा पनि त्यो अभिक्षमता राख्छन् भन्ने कुरा उनले आजसम्मको राजनीतिक यात्रामा गरेको अनुभवबाट पुष्टि गर्दाछ । जेहोस् बालकृष्ण खाण रूपन्देहीको विकास र सिंगो देसकै लागि पनि अपरिहार्य नेता हुन्,यसमा मतदाता र सिंगो देशबासी नै विश्वस्त छन् ।
नेपाली राजनीतिमा छोटो अवसर पाउँदा नै आफूलाई कलुषित पार्ने जुन प्रवृत्ति देखिएको छ, त्यसबाट खाँण धेरै टाढा छन् । पटक–पटक मन्त्री पद सम्हालेका खाँण आजसम्म कुनै भ्रष्टाचारमा परे भन्ने सुन्नु परेको छैन । कहीं विवादमा तानिएका छैनन् । लेनदेनमा फसेका छैनन् । साँच्चिकै निर्विवादित छवि बनाएका नेता हुन् । पद र प्रतिष्ठाको मूल्य बुझेर आफ्नो कर्तव्य पूरा गर्न सिपालु नेता बालकृष्ण खाणलाई विजयको अग्रिम शुभकामना ।