गृहमन्त्री बालकृष्ण खाँणले एमाले र राप्रपाको गठबन्धन अप्राकृतिक भएको बताउँदै त्यसले दुर्घटना निम्त्याउन पनि सक्ने बताउनु भएको छ । आफूलाई अतिअग्रामी बताउने एमाले र अति पश्चगामी राप्रपा विचको तालमेल कुनै पनि मानेमा मिल्न नसक्ने बताउनु भएको हो ।
सत्ता गठबन्धनले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका गृहमन्त्री खाँणले संघीय लोकतान्त्रिक गणतन्त्रको माला जप्ने एमाले र संघीयता विरोधी, राजसंस्था पुनस्थापनाको मुद्धा लिएर हिडेको राप्रपा विचको तालमेल के कुरामा मिलेको हो भनी प्रश्न गर्नुभयो ।
उहाँले अहिले पनि सत्ता गठबन्धन अगाडी रहेको बताउँदै गठबन्धनलाई सफल बनाउने ऐतिहासिक दायित्वबाट नचुक्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । पछिल्लो आँकडा अनुसार १३१ स्थानमा सत्ता गठबन्धन, २१ स्थानमा एमाले, ३ स्थानमा जसपा र राप्रपाको शुन्य स्थानमा अग्रता देखिएको बताउँदै मसिर ४ पछि संघ र प्रदेशमा समेत गठबन्धनको सरकार बन्ने दावी गर्नुभयो ।
रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार गृहमन्त्री खाँणले अन्य स्थानमा भन्दा रुपन्देहीमा गठबन्धनको आकार पनि ठूलो भएको बताउँदै गठबन्धनलाई सक्षमताका साथ नेतृत्व दिन सक्ने हो भने जित निश्चित रहेको बताउनु भयो । रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेपछि जनमुक्तिले अन्य क्षेत्रका आफ्ना उम्मेदवारलाई निश्कृय बनाएर सत्ता गठबन्धनलाई साथ दिएको छ भने हाम्रो नेपाली पार्टी लौरो अभियानले समेत क्षेत्र नं. २ को प्रतिनीधि सभामा गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।

गृहमन्त्री खाँणले रुपन्देहीलाई देश विकासको मोडल बनाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । काँग्रेसकै नेतृत्वमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको र अन्य ठूला योजनाहरुमा समेत काँग्रेसले नेतृत्व गरेको बताउँदै आगामी दिनमा रुपन्देहीलाई उत्पादनको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुवाहक मात्रै नभएर मालबाहक जहाज उडान गर्न चाहेको बताउँदै त्यसको लागि उत्पादनको पनि केन्द्र बनाउनु पर्ने भनाई राख्नुभयो । उहाँले भन्नुभयो–‘त्यो पनि हामी गछौं, अब कृषि, डेरी, पोल्टी लगायतका अन्य आयोजनाहरु अगाडि बढाउनु पर्छ, त्यसको लागि हामीले काम गर्ने छौं ।’
उहाँले प्रदेशको राजधानी सार्दा रुपन्देही आसपासका मतदाताको मन कुँडिएको बताउँदै प्रदेश सरकारको निर्णयलाई करेक्सन गर्नुपर्ने भनाई राख्नुभयो ।