नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा कुशलतापूर्वक निर्णय लिईने बताउनु भएको छ । गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधि सभा सदस्य भण्डारीले अहिले नै बोल्न हतार हुने बताउँदै काठमाण्डौ गएर छलफल गरेर एउटा निश्कर्षमा पुग्ने बताउनु भयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले सरकारमा को जाने, कसको नतृत्वमा सरकार बनाउने भन्दा पनि कस्तो सरकार बनाउने भन्ने कुरा महत्वपूर्ण रहेको भनाई राख्नुभयो ।
नेपाली काँग्रेसको महाधिवेशन पछि पार्टीमा आफ्नो विचार समुहले पुस्तान्तरणको सवाल उठाइको बताउँदै विचार समुहमा छलफल गरेर निर्णय लिईने उहाँको भनाई थियो । उहाँले मुलुकको प्रमुख समस्या भष्ट्राचार रहेको बताउँदै यसलाई कसरी अन्त्य गर्ने र मुलुकलाई कसरी समृद्ध बनाउने र जनताको जीवनस्तर कसरी उठाउन सकिन्छ भनेर चिन्तन गर्ने नेता चाहिएको उहाँको भनाई छ ।
उहाँले अहिले देशको लागि चिन्तन गर्ने भन्दा पनि आफ्नो लागि चिन्तन गर्ने व्यक्तिहरु हावी हुँदा मुलुकले यो गति व्यहोर्नु परेको दावी गर्नुभयो । ‘जनतामा प्रतिस्पर्धी क्षमताको विकास गर्न कसैको ध्यान छैन ।’ उहाँले भन्नुभयो–‘यहाँ सबैलाई आफू कसरी मन्त्री प्रधानमन्त्री बन्ने मात्रै ध्यान छ ।’
