पूर्वाधार विना नै स्थायी राजधानी दाङको भालुवाङमा संरचना नलैजान चौतर्फी दवाव भइरहेका बेला लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयले रातारात अस्थायी मुकाम बुटवलबाट सामान ओसारेको छ ।
स्थायी राजधानीमा संरचना बनेपछिमात्रै लैजाने गरी सरकारले निर्णय गरेको भए पनि मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा रातारात सामान दाङ लगिएको हो । मुख्यमन्त्री कार्यालयका सामान गएराति दाङ लगिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता नरेन्द्रकुमार रानाले जानकारी गराउनु भएको छ ।
यहि मंसिर ४ गते सम्पन्न निर्वाचनको आचार संहिता जारी रहेकै समयमा लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले भने निर्वाचन आचार संहिताको उल्लंघन गर्दै रातारात सामान सारेको हो । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले निर्वाचन आयोगले सबै क्षेत्रको नतिजा घोषणा नगर्दासम्म सरकारले कुनै प्रकारको निर्णय गर्न नपाउने बताउनु भयो । तर, लुम्बिनी प्रदेश सरकारले नै आचार संहिता उल्लघन गरेर प्रदेशको राजधानी रातातात सारेको हो ।
निर्वाचन आचार संहिता लागू भएपछि नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय निर्माण, विना टेन्डर फर्निचर खदिर, इलेक्ट्रिक सामानको खरिद तथा मर्मत र निर्माण गरेर स्थायी राजधानीमा संरचना बनेको कर्मचारीहरूले बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदका प्रवक्ता रानाले आचार संहिता लागू भएकै कारण अन्य सामान नलगिएको स्वीकार गर्नु भएको छ ।
त्यसो त मंसिर ४ को निर्वाचन अघि नै बुटवलमा रहेको मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू दाङ लैजान ताकेता गरेपनि संरचना नै नभएकाले जान नसक्ने कर्मचारीले बताएपछि रोकिएको थियो । सत्तारुढ दलभित्र पनि विरोध र निर्वाचन आचार संहिताका कारण कार्यालयका सामान सार्न रोकिएको थियो । तर निर्वाचनको पूरा परिणाम आईनसक्दै मुख्यमन्त्री केसीको निर्देशनमा रातारात सामान सारिएको हो ।
लुम्बिनी प्रदेश सभाले निर्णय गरेको दाङको भालुवाङमा अहिले पूर्वाधार संरचनाहरु केही पनि छैन भने कर्मचारीलाई आवास सुविधा पनि छैन । त्यस्तै कर्मचारीले आफ्ना बालबच्चाको पठनपाठनका लागि विद्यालय, छात्रावास, होटल लगायतका अन्य कुराहरुको पनि असुविधा भएका कारण कर्मचारी पनि तत्काल जान नसकिने भन्दै आन्दोलित भएका थिए ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो । एमालेले पनि विज्ञप्ती जारी गरेको थियो ।

नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित ४ सांसद लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप नगर्न आग्रह गर्नुभएको थियो ।
निर्वाचन अगावै सार्ने दाउ खेलेका मुख्यमन्त्री केसीलाई गृहमन्त्री बालकृष्ण खाँणले गुरुयोजना अनुसार भौतिक संरचना बनाएरमात्रै मन्त्रालय र कार्यालय सार्न निर्देशन दिएपछि रोकिएको थियो ।
दुई वर्षदेखि कुनै संरचना नथपिएको देउखुरीमा तत्काल कर्मचारी गएर काम गर्नसक्ने अवस्था नभएको नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी इन्चार्ज दधिराम मरासिनी बताउनु हुन्छ । नेपाल निजामती कर्मचारी संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खगराज उपाध्यायले पनि जबरजस्ती कुर्सी टेवल लगेर राजधानीमा थुपारेर के केही नहुने बताउनु हुन्छ । उहाँले भन्नुभयो ‘कर्मचारीले काम गर्ने वातावरण पनि हुनुप¥यो ।’
राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभा लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा ‘मेटल स्टक्चर’ को भवन निर्माण गरिएको छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले २०७८ वैशाख २४ ठेक्का सम्झौता गरेको थियो । असोज मसान्तभित्र काम सक्ने गरी प्राधिकरणले दोस्रो सम्झौता गरे पनि अझै पूर्ण रुपमा काम सकिएको छैन । तर नयाँ प्रदेशसभा सदस्यहरुलाई सपथ गराउने गरी तयारी भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी गराउनु भयो ।
२०७७ असोज २० गते प्रदेशसभाबाट नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती उपत्यका (भालुवाङ, देउखुरी) क्षेत्रलाई तोकिएको थियो ।