नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । आईतबार बसेको काँग्रेसको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार काँग्रेसले नयाँ सरकार गठनको लागि सत्ता गठबन्धनलाई प्राथमिकता दिईने, त्यसको लागि गठबन्धन दलहरुका नेतृत्वसंग छलफल गर्ने र अन्य दलहरुसंग पनि परामर्श गर्नेछ ।
उहाँका अनुसार काँग्रेस सबैभन्दा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धन र अन्य दलहरुसंग पनि छलफल गर्ने निर्णय गरिएको हो ।
काँग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेको छ । सोही कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको हो । यो समितिले मंगलबार वा बुधबार संसदीय दलको चुनाव गराउने छ ।
प्रवक्ता महतले सकेसम्म पार्टी सभापतिकै नेतृत्वमा सहमति जुटाउने र नभए लोकतान्त्रिक प्रक्रिया अनुसार अगाडि बढ्ने बताउनु भयो ।