शपथ ग्रहण नगराई सरकार गठनको प्रक्रिया उल्टो हुन्छ : प्रचण्ड

1.3K

शपथ ग्रहण नगराई सरकार गठनको प्रक्रिया उल्टो हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण नगरी सरकार गठनको प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनु भएको छ । उहाँले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण नगराई सरकार गठनको प्रक्रिया अगाडि बढाउने काम उल्टो भएको भनाई राख्नु भयो ।
आईतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सात दिनको समय दिएर सरकार गठनको लागि आह्वान गर्नु भएको छ । नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण अगावै राष्ट्रपतिबाट सरकार गठनको आह्वान भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
पार्टीको पदाधिकारी बैठकपछि आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भयो । सांसदहरुको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिर जस्तो बन्न गएको उल्लेख गर्दै उनले त्यसो गर्नु गलत हुने दाबी गर्नुभयो ।
निर्वाचन आयोगले राष्ट्रपतिकहाँ र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा निर्वाचित सांसदहरुको विवरण पठाईसकेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण गराइसकेपछि सबै पार्टीका संसदीय दलहरुको बैठक बस्ने र प्रतिनिधि सभाका सांसदहरुको शपथग्रहण गरिसकेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुने उहाँले बताउनु भयो ।