मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर

1.3K

मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर

हालै सम्पन्न प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा धेरै मत बदर हुनुमा मतदाता शिक्षाको पक्षलाई कमजोर औंल्याईएको छ । निर्वाचनमा पर्यवक्षेण गरेको डेमोक्रेसी रिसोर्स सेन्टरले पर्यवेक्षण प्रतिवेदन प्रस्तुत गर्दै कमजोर मतदाता शिक्षाकै कारण धेरै मत बदर भएको उल्लेख गरेको हो ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुल खसेको मतको ५ प्रतिशत भन्दा बढी मत बदर भएको उल्लेख गर्दै त्यसो हुनुमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको डेमोक्रेसी रिसोर्स सेन्टरका अनुसन्धानकर्ता भवसागर घिमिरेले बताउनु भयो ।
निर्वाचन मतदाता शिक्षाकालागि महिला स्वयम् सेविकाहरु परिचालन गरिएको थियो । उहाँका अनुसार मतदाता शिक्षामा परिचालित भएका स्वयम् सेविकाहरुले चारटा मतपत्र र कसरी मत दिने भन्ने विषयमा बृद्धबृद्धा तथा फरक क्षमता भएका व्यक्तिहरुलाई बुझाउन गाह्रो भएको बताएका थिए । मतदान प्रणालीमा आयोगले केही सुधार गरेको थियो ।
डेमोक्रेसी रिसोर्स सेन्टरले मंगलबार बुटवलमा निर्वाचन पर्यवेक्षण प्रतिवेदन उपर छलफल कार्यक्रम गरेको थियो । त्यस अवसरमा आफूहरुले गरेको अध्ययनले धेरै मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नभएको र केही मात्रामा नियतबस पनि हुन सक्ने उहाँले आशंका व्यक्त गर्नुभयो । त्यस्तै बदर मतमा औंठा छाप र निर्वाचन अधिकृतको हस्ताक्षर नभएका पनि मतपत्र भेटिएको बताउँदै उहाँले आउँदा दिनमा यस्ता कुराहरुलाई कसरी सुधार गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिईनु पर्ने भनाई राख्नुभयो ।
डेमोक्रेसी रिसोर्स सेन्टरले गत मंसिर ४ गते सम्पन्न प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा ४६ जिल्लाका ८३ पालिकाका १११ मतदान केन्द्रमा प्रतिनीधि खटाएर निर्वाचन पर्यवेक्षण गरेको थियो । निर्वाचन अगाडि निर्वाचनको तयारी, उम्मेद्वारका चुनावी मुद्धा, प्रचारप्रसार, निर्वाचन आचारसंहिताको पालाना, मतदानको समयमा मतदानको सुरुवात, मतदान र समापन तथा निर्वाचन पश्चात मतगणना, सदर बदर मत लगायतका विषयमा पर्यवेक्षण गरिएको पर्यवेक्षक विनु लईटेलले जानकारी गराउनु भयो ।
पर्यवेक्षक शेखर पराजुलीका अनुसार निर्वाचन आचारसंहिता अनुसार कात्तिक १७ गतेपछि मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाईने भएपनि दल तथा उम्मेदवारहरुले त्यो भन्दा अगावै प्रचारप्रसार सुरु गरिसकेका थिए । निर्वाचनमा प्रचारप्रसारको लागि विगतमा भन्दा समय कम थियो । जसका कारण घरदैलो, कार्यकर्ता प्रशिक्षण र कोण सभामा मात्रै उम्म्वारहरु सिमित भए । त्यस्तै प्रचारप्रसारको लागि आमसञ्चार माध्यम, टेलिफोन र सामाजिक सञ्जालको अधिकतम प्रयोग भएको पाईएको छ ।
यस विचमा निर्वाचन आचारसंहिता उल्लंघन पनि भएका छन् । उहाँका अनुसार निर्वाचन आयोगले आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गरेन । उहाँकै भाषामा निर्वाचन आचार संहिता कर्मकाण्डी जस्तै छ । त्यस्तै निर्वाचन आयोग आफैले बनाएको निर्वाचन प्रावधानहरु आयोग आफैबाट उल्लंघन भएको उहाँले बताउनु भयो ।
मतदानको दिन डेमोक्रेसी रिसोर्स सेन्टरले पर्यवेक्षण गरेकामध्ये ५० स्थानमा ७ बजे नै मतदान सुरु भएको थियो भने बाँकी ६१ स्थानमा केही ढिला सुरु भएको थियो । त्यस्तै सहयोगीले भोट हाल्ने स्थानमा विवाद भएका थिए । त्यस्तै केही स्थानमा निर्वाचन विरोधी समुहका गतिबिधि पनि भएका थिए । कतिपय स्थानमा साघुरो संरचनाका कारण व्यवस्थापनमा समस्या थियो भने कतिपय स्थानमा निर्वाचनमा खटिएका कर्मचारी अन्यौल हुँदा समस्या भएको थियो ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन डेमोक्रेसी रिसोर्स सेन्टरले केही सुधारका कुराहरु पनि राखेको थियो । मतदाता शिक्षालाई नियमित बनाउन सकिन्छ भन्ने उसको आशय हो । त्यस्तै मतदाता शिक्षालाई विद्यालय शिक्षामा जोड्न सकिन्छ र निर्वाचनमा खटिने कर्मचारीलाई विधि र प्रकृयाका बारेमा प्रयाप्त तालिमको व्यवस्थापन गर्न सुझाव दिईएको अनुसन्धानकर्ता घिमिरे बताउनु हुन्छ ।
छलफल कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य कृष्ण पोखरेल, नेपाली काँग्रेसका क्षेत्रीय सचिव विमलराज भट्टराई, संघीय समाजवादीका मनिकर कार्की, ईन्सेक प्रतिनीधि रिमा बिसि लगायतले निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा समेटिएका कुराहरु सहि भएपनि सोलोडोलो रुपमा नभई कसले कहाँ के गल्ती गर्यो, सुधार गर्नुपर्ने कुराहरु के के हुन् बस्तुपरक रुपमा आए सुनमा सुगन्ध हुने बताउनु भएको थियो ।