पुस ९ गते बुटवलमा ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने

1.3K

पुस ९ गते बुटवलमा ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने

मानव सेवा आश्रमको भवन निर्माण तथा अक्षय कोष स्थापनाको लागि बुटवलमा ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको छ । ‘मानवताका लागि संगीत यात्रा’ लिएर चर्चित नेपथ्य ब्याण्डले यहि पुसको ९ गते शनिबार साँझ बुटवल ‘नेपथ्य लाईभ कन्सर्ट’ गर्न लागेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. १२ रामनगर स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालय प्राङगढमा हुने कन्सर्टको तयारी पुरा भएको मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक कृष्ण पंगेनीले जानकारी गराउनु भयो । सहयोगापेक्षी सडकआश्रीत मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रीतको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ आयोजना गरिएको सांगिटिक कार्यक्रम गर्न चर्चित गायक अमृत गुरुङ, नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोली बुटवल आउने छ ।
बुटवलमा हुने कन्सर्टका लागि ६ हजार टिकट बिक्री गरिने उहाँले बताउनु भयो । टिकट शुल्क एक हजार रुपैंया राखिएको छ । ई–सेवा, खल्ती लगायतका मोवाईल एप्लिकेसनहरुबाट अनलाइन टिकट बुकिङ गर्न सकिन्छ । त्यस्तै मानव सेवा अश्रमको कार्यालय बुटवलबाट पनि टिकट गरिद गर्न सकिने छ । राजमार्ग चौराह, मिलनचोक तथा ट्राफिकचोक लगायतका स्थानमा स्टल स्थापना गरी टिकट विक्री भइरहेको छ ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको रुपन्देही संयोजक टिकामाया थापाले बताउनु भयो । सांगीतिक आनन्द पनि हुने मानवताका लागि सहयोग पनि पुग्ने भएकाले महाअभियानमा साथ दिन कार्यकम संयोजक लोकनाथ भुसालले आग्रह गर्नुभयो ।
नेपथ्यले मानवसेवा अश्रमको सहयोगमा मुलुकका १० ठूला शहरहरुमा सांगितिक कार्यक्रम गर्दै छ । मंसिर १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’बाट अभियान शुरु भएको थियो । साँगेतिक यात्रा पुस ६ गते वीरेन्द्रनगर सुर्खेत, मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा, मंसिर २५ नारायणघाटको ‘क्याम्पाचौर’मा तथा मंसिर २९ गते नेपालगन्जमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
पुस ३ गते धनगढीमा सम्पन्न भएको छ भने पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा हुने छ । यहि पुसको ९ गते बुटवलमा हुँदै छ भने अन्तिममा पुस १६ गते काठमाण्डौं भृकुटीमण्डपमा सांगितिक कार्यक्रम हुने व्याण्डका गायक अमृत गुरुङले बताउनु भयो । नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गरिरहेको छ ।