दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक

1.3K

दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक

बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाईएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले जानकारी गराउनु भयो ।
अब बुटवलमा यसअघि दर्ता भएका एक हजार दुई सय ५६ वटा इरिक्सामात्रै चल्न पाउने छन् । दर्ता नगरी सञ्चालन भएका ई–रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र दर्ता नभएका ई–रिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
नगरप्रमुख पाण्डेयले नगरलाई सुन्दर, सफा र व्यवस्थित गर्दै कानुनी राज्यको रुपमा स्थापित गर्न बिनादर्ताका इरिक्सा सञ्चालनमा रोक लगाएको बताउनु भयो । यसअघि नगरले तयार पारेको कार्यविधि अनुसार थप १८४ ई–रिक्सा दर्ता गर्न बाँकी छ । अब दर्ता गर्दा स्वरोजगार, स्थानीय, महिला र सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिईने उहाँले बताउनु भयो । अनुमति नलिइ मनपरी रुपमा चलाएका ई–रिक्सा व्यवस्थापन गरेपछि बुटवल शहर केही व्यवस्थित हुने उहाँको भनाई छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बुटवल उपमहानगरपालिकाको निर्णय कार्यान्वयनका लागि नगरपालिकासंग सहकार्य गरेर निर्णय कार्यान्वयन थालिएको बताउँदै दर्ता नगरी सञ्चालन गरेका ई–रिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कारबाही गर्ने बताउनु भयो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको व्यवस्थापन शुरु गरिएको बुटवल उपमहानगरपालिकाका वित्त व्यवस्थापन, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी गराउनु भयो ।