लुम्बिनी पदेशको मुख्यमन्त्रीको लागि एमालेले दावी पेश गर्ने भएको छ । एमालेको तर्फबाट एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता लिला गिरीले दावी पेश गर्नु हुनेछ ।
सत्ता गठबन्नमा लुम्बिनीमा एमालेलाई सरकारको नेतृत्व दिने सहमति पछि एमाले संसदीय दलका नेता गिरीले भोली (मंगलबार) प्रदेश प्रमुख समक्ष बहुमत प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेस गर्न लाग्नु भएको हो ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न यहि पुस २७ गते बुधबार अपरान्ह ४ बजे सम्मको समय सिमा दिनु भएको थियो । त्यसको एक दिन अगावै मुख्यमन्त्रीका लागि दावी पेश गर्न लागिएको हो ।
मुख्मन्त्रीको कार्यालय देउखुरीमा सोमबार सत्तासाझेदार दलहरु बिच बैठक बसेको थियो । सो बैठकले मंगलबार नै बहुमत सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सभामा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यकता पर्दछ । सत्ता गठबन्धनमा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४, नागरिक उन्मुक्ति पार्टीको ४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् । माओवादी केन्द्रका ९ सांसद हुन् । स्वतन्त्र जितेका १ जना माओवादी केन्द्रमा फर्किएपछि माओवादी केन्द्रको सांसद संख्या १० पुगेको हो ।