विमान दुर्घटनामा ६८ जनाको शव भेटियो : अज्ञात ४ जना खोज्न गोताखोर परिचालन

1.3K

विमान दुर्घटनामा ६८ जनाको शव भेटियो : अज्ञात ४ जना खोज्न गोताखोर परिचालन

पोखरामा भएको विमान दुर्घटनामा ६८ जनाको शव भेटिएको छ । चार जना अझै नभेटिएको र उनीहरुको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ ।
काठमाण्डौंबाट विहान १०ः३२ मा पोखराको लागि उडेको यति एयरलाईन्सको एन.वाई.टी.६९१, ९ एन. ए.एन.सी. जहाट पोखराको सेती खोँच भन्ने स्थानमा दुर्घटना भएको थियो । जसमा ४ जना चालक दलका सदस्य सहित १५ जना विदेशी र बाँकी ५३ जना नेपाली यात्रु थिए । त्यसमध्ये अहिलेसम्म ६८ जनाको शव भेटिएको नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ ।
अज्ञात ४ जनाको खोजीको लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी गराउनु भएको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।

छानविन आयोग गठन

विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहनु भएको छ । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी गराउनु भएको छ ।

शोकमा सार्वजनिक विदा

सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ । विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण पनि सरकारले गर्ने भएको छ ।
मृत्यु भएका र संकलन भएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाईने छ ।

भोली यतीका सबै उडान रद्द

यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको हो ।