नेविसंघ रुपन्देहीमा विवाद : खड्काको नेतृत्वमा समानान्तर समिति गठन

1.3K

नेविसंघ रुपन्देहीमा विवाद : खड्काको नेतृत्वमा समानान्तर समिति गठन

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीमा विवाद सिर्जना भएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले रुपन्देहीको जिल्ला सभापतिमा सन्दिप पाण्डेलाई मनोनित गरेपछि विवाद सतहमा आएको हो ।
पार्टीका जिल्ला नेताहरुको रोहवरमा नेविसंघ रुपन्देहीमा सम्शेर खड्काको नेतृत्वमा समानान्तर समिति गठन गरिएको छ । नेविसंघको नेतृत्वले एकलौटी रुपमा विद्यार्थी माझमै नचिनिएको व्यक्तिलाई सभापतिको चिठी दिएकाले संगठनलाई चलायमान गराउन सक्ने योग्य व्यक्तिको नेतृत्वमा तदर्थ समिति गठन गरिएको नेपाल विद्यार्थी संघ रुपन्देहीका पूर्व सभापति समेत रहेका काँग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताउनु भयो ।
पाण्डेलाई केन्द्रीय अध्यक्ष शेर्पाले जिल्ला अध्यक्षमा मनोनयन गरेपछि त्यसबाट असन्तुष्ट बनेका विद्यार्थीहरुको बिहिबार बसेको भेलाले ३० सदस्यीय तदर्थ समिति गठन गरिएको समानान्तर समितिका अध्यक्ष सम्शेर खड्काले बताउनु भयो । असन्तुष्ट विद्यार्थीहरुको भेलामा काँग्रेसका प्रदेश तथा जिल्ला तहका नेताहरु समेत सहभागि थिए ।
संस्थापन पक्षबाट पाण्डेलाई केन्द्रीय अध्यक्ष शेर्पाले मनोनयन गरेको भोली पल्टै संस्थापन इतर समुहले खड्काको नेतृत्वमा समानान्तर समिति गठन गरेको हो । केन्द्रीय अध्यक्ष शेर्पाले तीन महिना भित्रै जिल्ला अधिवेशन गर्ने जिम्मेवारी सहित नेतृत्व दिनु भएको थियो ।