पत्रकारमैत्री कानुन निर्माणमा जाेड दिईएकाे छ । नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार तिलाेत्तमाकाेशंकरनगर बनबाटिकामा आयाेजना गरेकाे अन्तरक्रिया तथा पत्रकार सम्मान कार्यक्रममा पत्रकारहरुले तीनै तहका सरकारले जारी गर्ने कानुन प्रेसमैत्री छन् कि छैनन् भन्नेकुरा खाेज्नु पर्ने बेला भएकाे बताएका हुन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बर्तमान सरकारमा लोकतन्त्र र प्रेस स्वतन्त्रता मन नपराउनेहरु पनि रहेकाले सतर्क हुनुपर्ने बताउनु भयो । प्रेस र पत्रकारमैत्री कानुन निर्माणकाे लागि पत्रकारहरुले नै खवरदारी गर्नु पर्ने उहाँकाे भनाई छ । प्रेस युनियन नयाँ ढंगले अघि बढ्नुपर्ने भन्दै उहाँले नेताहरुको पछि लाग्न छाडेर जनताका गुनासा र समस्याका बारेमा युनियनले लगातार अन्तरक्रिया तथा छलफल चलाउनु पर्ने पनि बताउनु भयाे ।
त्यस्तै युनियनका उपाध्यक्ष माधब अर्यालले केन्द्र, प्रदेश र स्थानीय सरकारका कार्यहरु प्रति पत्रकारले कलम चलाउनु पर्ने बताउनु भयाे ।
युनियन महासचिव दिलिप पौडेलले पछिल्लो पटक नयाँ दलहरुले पनि नेपाली सञ्चारमाध्यमप्रति धावा बोल्ने काम भएको भन्दै त्यसले प्रेस जगतलाई चिन्तित बनाएको बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले शहरका समस्यासँगै व्यवसायीका समस्याहरुलाई पनि उठान गर्न पत्रकारहरुसँग आग्रह गर्नुभयो ।
प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले युनियनका सबै सदस्य र सुभेक्षुकहरुबीच आपसी भेटघाट सम्बन्ध विस्तार होस भनेर बनभोज सँगै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
त्यस अवसरमा युनियनकाे केन्द्रीय पदाधिकारी तथा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रेस युनियन लुम्बिनी प्रदेश समितिका नवनिर्वाचत पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।