जनशक्ति र मेसिनको अभावमा रुपन्देहीमा भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्न अलमल देखिएको छ ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीका अनुसार रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर नगरपालिका तथा कञ्चन, सुद्धोधन, सियारी, मायाँदेवी र ओमसतीया गाउँपालिकाका विभिन्न वडामा ब्लक लिने (नापि गर्नुपर्ने जग्गाको पहिचान) तथा ती स्थानका कतिपय ठाउँमा नापि सम्मका काम भएका छन् ।
तर जनशक्ति (अमिन) र जग्गा नापजाँचमा आवश्यक पर्ने उपकरण (टोटल स्टेशन र जि.डि.पि.एस.)को अभावका कारण आयोगले द्रुत गतिमा काम अगाडि बढाउन नसकेको उहाँले बताउनु भयो । आयोगले सबैभन्दा पहिले जग्गाको व्लक लिने काम गर्छ । जग्गाको व्लक लिएपछि मात्रै नापिको काम अगाडि बढ्ने र नापिका लागि प्रयाप्त जनशक्ति (अमिन) र टोटल स्टेशन तथा जि.डि.पि.एस. को अभावका कारण व्लक लिए पनि जग्गाको नाम जाँचमा समस्या भएको उहाँको भनाई छ ।
कार्यारम्भ गरेको एक वर्षको अवधिमा आयोगले जिल्लामा करिव एक सय जति पुर्जा वितरण गरेको छ । त्यसबाहेक अरु पुर्जा वितरणको लागि तयारीका काम भईरहेको उहाँले बताउनु भयो ।
गत माघमा जिम्मेवारी पाएसंगै आयोगले देवदह नगरपालिकाबाट काम सुरु गरेको थियो । तर दुई वटा निर्वाचन तथा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको आचार संहिता समेतका कारण काममा केही विलम्ब भएको उहाँको भनाई छ । रुपन्देहीका १६ पालिका मध्ये आयोगले अहिले बुटवल उपमहानगरपालिकाको १९ वटै वडामा व्लक लिने काम भएको छ भने वडा नं. ७, १३, १८ र १९ मा पुर्जा समेत वितरण भईसकेको अध्यक्ष आचार्यले बताउनु भयो । त्यस्तै देवदह नगरपालिकाका ५, ६, ७, ८, ९ र १० मा नापि भईसकेको छ । तर त्यहाँ जग्गाको राजश्व बढी भएको भन्दै जग्गाधनी पुर्जा लिन अस्वीकार गरेका छन् ।
त्यसैगरी सैनामैना नगरपालिकाको वडा नं. १ मा पुर्जा वितरण भईसकेको छ भने वडा नं. ७ र ८ मा नापि भईरहेको छ । तिलोत्तमा नगरपालिकाको वडा नं. ८ र १४ मा जग्गाधनी पुर्जा वितरण भईसकेको छ । १७ वटै वटामा व्लक लिईसकेको आयोगले वडा नं. १३ मा नापिको काम सकाएको र बाँकी वडामा नापि भईरहेको अध्यक्ष आचार्यले बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिकाको वडा नं. २, ७, ९, ११, १२ र १३ मा व्लक लिईएको छ । त्यसैगरी कञ्चन गाउँपालिकाको वडा नं. १, २, ३ र ४ मा व्लक लिएर नापिको काम भईरहेको छ । सुद्धोधन गाउँपालिकाका वडा नं. ३ मा केहीलाई पुर्जा वितरण गरिसकिएको भने वडा नं. २, ३ र ५ मा नापि भईरहेको छ ।
सियारी गाउँपालिकामा वडा नं. १ र ७ मा नापिको काम सम्पन्न गरी पुर्जा वितरणको तयारीमा भने बाँकी वडामा व्लक लिएर नापिको तयारीमा छ । मायाँदेवी गाउँपालिकाको वडा नं. ८ मा केही पुर्जा वितरण गरिएको छ भने ७ र ८ मा व्लक लिएका जग्गामा नापि भईरहेको छ । ओमसतीया गाउँपालिकाको वडा नं. २ मा व्लक लिएको तर पालिकाको असहयोगका कारण काम अगाडि बढाउन नसकिएको अध्यक्ष आचार्यले बताउनु भयो ।
उहाँका अनुसार आयोगलाई प्रयाप्त सहयोग अरु पालिकाको पनि छैन । भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको लागि जनशक्ति र उपकरणको प्रवन्ध पालिकाले गर्नुपर्ने भएपनि त्यसतर्फ पालिकाको खासै चासो छैन । जसका कारण आयोगको कामले तिब्र गति लिन सकिरहेको छैन । ‘पालिकाले पूर्ण सहयोग गर्ने हो भने २ महिना भित्रमा १० हजारलाई पुर्जा वितरण गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो–‘पुर्जा वितरण गर्ने अधिकार आयोगलाई मात्रै छ, सुकुम्बासी समस्या समाधानको चाहना छ भने पालिकाले आयोगलाई सहयोग गर्नुपर्छ ।’
त्यस्तै आयोगका सामु अर्को समस्या पनि खडा भएको छ । जग्गा धनी पुर्जा तयार भएपनि कतिपय ठाउँमा राजश्व बढी भएको भन्दै लिन अस्वीकार गरेका छन् । यसले पनि आयोगलाई समस्या भएको उहाँले बताउनु भयो । यस विषयमा उहाँले सुरुवाती समयमै नगरप्रमुख सहित राजनीतिक दलको बैठक राख्नु भएको थियो । तर अख्तियारका कारण त्यसमा कोही पनि तयार हुन सकेनन् । उहाँले भन्नुभयो–‘तोकिएको राजश्वमा आयोगले तलमाथि गर्न मिल्दैन ।’