भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले लालपुर्जा लिँदा तिर्नुपर्ने शुल्क अत्याधिक भएकाले घटाउनुको विकल्प नभएको सरोकारवालाहरुले बताएका छन् । लुम्बिनी प्रदेश संवाद समूहले मंगलबार बुटवलमा आयोजना गरेको भूमि व्यवस्थापनमा नीतिगत चुनौति र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
अन्तरक्रियामा बोल्दै भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले आफुले अध्यक्षको जिम्मेबारी पाएदेखि नै काम सुरु गरेको र धेरै जसो जग्गाको नापजाँचको काम सकिएको बताउनु भयाे । राजश्व बढी भयो भनेर लालपुर्जा नलगेको र सरकारले राजश्व घटाएमा रुपन्देहीमा १० हजार लालपुर्जा तत्काल वितरण गर्न सकिने उहाँकाे भनाई छ । जिल्लामा अहिलेसम्म ६८ जनाले मात्रै लालपुर्जा लगेको उहाले जानकारी गराउनु भयाे । अध्यक्ष आचार्यका अनुसार रुपन्देहीमा भूमिहन, दलित र अव्यवस्थित बसोबासीहरुको संख्या ७६ हजार ७२० जनाको लगत संकलन गरिएको छ । जिल्लाका १६ पालिकामा सबै भन्दा धेरै बुटवल उपमहानगर पालिकामा रहेका छन् ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जग्गा नापजाँच गर्न भूमिहिन दलित, सुकुम्बावासी र अव्यवस्थित बसोबासीहरुले ताकेता गर्ने गरेता पनि लालपुर्जा लिँदा लाग्ने शुल्क अत्याधिक भएकाले खुलेर लालपुर्जा चाहियो भनेर आउने नगरेको बता बताउनु भयाे । ‘नापजाँच छिट्टो गरिदिन भनेर भन्न त धेरै आउने गर्नु हुन्छ । तर शुल्क धेरै भएकाले खुलेर हामीलाई लालपुर्जा चाहियो भनेर आउने त कमै हुनु हुन्छ ।’–उहाँले भन्नुभयाे । साथै सरकारले निर्धारण गरेको राजश्व र बजार मूल्य बराबर भएकाले ८० प्रतिशत मिनाह गर्नु पर्ने उपमहानगरपालिका प्रमुख पाण्डेयकाे भनाई छ ।
यस्तै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पनि लालपुर्जा लिदा लाग्ने शुल्क धेरै हुनुका साथै सरकारले १० वर्षसम्म बेचविखन गर्न र नामसारी गर्न नपाउने व्यवस्था गरेकाले यसलाई सच्चाउनु पर्ने बताउनु भयाे । देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेलले राजश्व बढी भएका कारण बनेका लालपुर्जा पनि लिन नआएको बताउनु भयाे । ३/४ सय लालपुर्जा तयार भइसके पनि शुल्क धेरै भएको भन्दै कसैले पनि लालपुर्जा नलगेको उहाँ बताउनु हुन्छ ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको समस्या राष्ट्रकै समस्या रहेकाले सबै मिलेर अहिले देखिएको राजश्व लगायतका समस्याहरु समाधान गर्नु पर्ने भनाई राख्नु भयाे । नापि अधिकृतहरु अनिल मरासिनी र कपिल ज्ञवालीले १० वर्षसम्म भोग गरेको जग्गाकाे राज्यले निर्धारण गरेको शुल्क तिरेर लालपुर्जा लिन सकिने बताउनु भयाे । २०५६ सालको आयोगले दोब्बर दस्तुर र २०७३ सालको आयोगले मूल्य बराबरको राजश्व निर्धारण गरेको बताउँदै यो आयोगले बजार मूल्यको ३० देखि ५० प्रतिशतसम्म राजश्व निर्धारण गरेको बताउनु भयाे । राजश्व धेरै भयो भनेर गुनासो आएपछि आफूहरु केन्द्रलाई जानकारी गराएको उहाँले जानकारी गराउनु भयाे । सो अवसरमा लुम्बिनी सास्कृतिक नगर पालिकाका प्रमुख सजरुद्विन मुसलमान, सिदार्थ नगर नगरपालिकाका उपमेयर उमा अधिकारी, कञ्जन गाउपालपकाका अध्यक्ष नवराज ढकाल, सियारीका अध्यक्ष थानेश्वर घिमिरे, शुद्वोधनका अध्यक्ष विष्णु वस्याल, गैडहवाका अध्यक्ष सुरेन्द्र पौडेल, रोहिणिका अध्यक्ष विध्या यादव, ओमसतियाका अध्यक्ष मञ्जीत कुमार यादव, मायादेवीका अध्यक्ष धुर्वनारायण चौधरी, सम्मरीमाईका अध्यक्ष विनोद कुमार श्रीवास्तव, मस्चवारीमाईका अध्यक्ष गयाप्रसाद वरई लगायतले पुर्जा वितरण आफुहरुको पहिलो प्रथमिकतामा रहेको बताउनु भएकाे थियाे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापाईले भुमिहन र अब्यवस्तिको समस्या महत्वपुर्ण सवाल भएकोले तिनै तहको सरकार मिलेर कामगर्नु पर्ने बताउनु भयाे ।
अन्तरक्रिया कार्यक्रममा वन कार्यालय, नापी, मालपोत, प्रशासन लगायतका कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो । सवाद समुहले यो सवालमा लुम्बिनी प्रदेशका सबै जिल्लामा कार्यक्रम गरी सरोकारहरुलाई थप जिम्मेवार बनाउने काम गरिएकाे संवाद समुहका बिक्रम खड्काले बताउनु भयाे ।