बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाबाट १ हजार ४९८ ग्राहकले लाभ लिएका छन् । विद्युत सुविधाको पहुँच विस्तार र नविकरणीय उर्जाको विकास र प्रर्वद्धन गर्दै आएको सहकारीको छैठौं औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष जितबहादुर मल्लले सामुदायिक विद्युत संस्था सञ्चालनमा नीति नियम र सामुदायिक विद्युत ऐन निर्माण नहुँदा असहज परिस्थिती पैदा भएको र सामुदायिक विद्युत संस्थाहरु सहकारीमा परिणत भएको बताउनु भयो ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले यस आर्थिक वर्षमा ५९ जना शेयर सदस्य बृद्धि गरी १ हजार ४९८ शेयर सदस्य सहकारीमा आबद्ध रहेको जानकारी दिनुभयो । विद्युत लाईन व्यवस्थित र सुरक्षित गर्न आवश्यकता अनुसार संस्थाले २० वटा एङ्गल लगाई विद्युत लाईन ब्यवस्थित गरेको जानकारी दिनुभयो । अध्यक्ष मल्लले सडक बत्तीलाई निःशुल्क गरिएको बताउँदै संस्थाले वार्षिक २ लाख बराबरको सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
यस्तै कोषाध्यक्ष नारायण सारुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले आर्थिक वर्ष २०७८–७९ मा १३ शिर्षकमा २ करोड ६४ लाख ७५ हजार आम्दानी गरेको र २२ शिर्षकमा २ करोड ३२ लाख ९२ हजार खर्च भएको जानकारी दिनुभयो ।
लेखा समितिका संयोजक राजेशबहादुर बुढाथोकीले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गर्दैै सहकारीले ६ महिना भन्दा बढि भाखा नाघेको विद्युत बक्यौता रकम असुली गरेको जानकारी दिनुभयो । यस्तै सहकारीका व्यवस्थापक नरबहादुर भण्डारीले आर्थिक वर्ष २०७८–७९ मा सहकारीले एक सय केभिएका ९ वटा ट्रान्फर्मर जडान गरेको जानकारी दिनुभयो । यस आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणँसग २७ लाख ५१ हजार ७ सय ३५ युनिट विद्युत खरिद गरेर उपभोक्तासम्म पुुर्याइएको पनि उहाँले जानकारी गराउनु भयो ।