लुम्बिनी प्रदेश सभा सचिवालय अस्थायी मुकाम बुटवलमा प्रयोग गरेको बुटवल उद्योग वाणिज्य संघको भवन तथा सभा हल फिर्ता गरेको छ । प्रदेश सभा सचिवालयले आईतबार संघलाई उक्त भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेको हो ।
प्रदेशको स्थापनासंगै प्रदेश सरकार र संघ विच सम्झौता भई बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको संघको भवन तथा सभा हलमा प्रदेश सभाको सचिवालय तथा प्रदेश सभा बैठक सञ्चालन हुँदै आएको थियो ।
प्रदेशको स्थायी राजधानी तोकिएपछि अहिले प्रदेश सभा सचिवालय तथा प्रदेश सभा दाङको राप्ती उपत्यका (देउखुरी)बाट सञ्चालन भएको छ । प्रदेश सभा तथा सचिवालय दाङ सरेसंगै बुटवल उद्योग वाणिज्य संघले प्रदान गरेको संघको कार्यालय भवन तथा सभा हल फिर्ता हस्तान्तरण गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी गराउनु भयो ।
प्रदेश स्थापनाकालदेखि बुटवल उद्योग वाणिज्य संघले नेपालको संविधान र संघीयता कार्यान्वयन प्रक्रियामा प्रदेश व्यवस्थापिकालाई स्थापित गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको र ऐतिहासिक योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद सहित भवन तथा सभा हल फिर्ता हस्तारन्तरण गरिएको उहाँले जानकारी गराउनु भयो ।
त्यस अवसरमा संघको तर्फबाट कार्यवाहक अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, महासचिव विमलराज भट्टराई लगायतको उपस्थिती रहेको थियो ।