निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा त्रिपक्षीय प्रतिस्पर्धा छ । महासंघको भोली बुधबार हुन गईरहेकाे अधिवेशनबाट तीन वर्ष पछिको नेतृत्व लिनको लागि तीन जनाको प्रतिस्पर्धा हुने भएको हो ।
निजी क्षेत्रको छाता नेपाल उद्योग वाणिज्य महासङ्घमा चुनावी चहलपहल चलिरहेको छ । मुलुकको अर्थतन्त्र समस्यामा रहेको र त्यसबाट सबैभन्दा बढी निजी क्षेत्र प्रभावित भइरहेको बेला महासङ्घमा हुने निर्वाचनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने महासंघकाे विधान अनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वत: अध्यक्ष हुनुहुने छ भने वरिष्ठ उपाध्यक्ष पदमा तीन जना प्रतिस्पर्धामा हुनुहुन्छ । तीनवर्ष पछि महासंघकाे नेतृत्व लिनकाे लागि वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान एसोसिएट उपाध्यक्ष रामचन्द्र साङ्घाई, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रीनु भएकाे छ ।
उमेशलाल श्रेष्ठको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार हुनुहुन्छ । साङ्घाई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरजकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ तथा अञ्जन श्रेष्ठ प्यानलबाट वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी प्रतिस्पर्धामा हुनुहुन्छ ।
एसोशिएटतर्फका उम्मेद्वार भरतराज आचार्य अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलको संयुक्त उम्मेदवार हुनुहुन्छ ।
महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक/एक जना सदस्य निर्वाचित हुनेछन् । जसमा लुम्बिनी प्रदेशबाट जम्सेर मिया निर्विराेध निर्वाचित हुनु भएकाे छ । त्यस्तै कोशीबाट टंकप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरे, मधेस प्रदेशबाट विजयकुमार साह र अरुणकुमार प्रधान, बागमती प्रदेशबाट कृष्णप्रसाद अग्रवाल र सविन श्रेष्ठ, गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारी, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जङ्गबहादुर मल्ल प्रतिस्पर्धामा हुनुहुन्छ ।
त्यस्तै संस्थापकबाट झापाका टिकाराज ढकालले उम्मेदवारी फिर्ता लिएपछि सिद्धार्थ उद्याेग वाणिज्य संघ भैरहवाका भीष्मप्रसाद न्यौपाने निर्विराेध हुनुभएकाे छ ।
वस्तुगत सङ्घतर्फको सदस्यमा १४ जनाका लागि २८ जना, जिल्ला नगर सङ्घ सदस्यमा १८ जनाका लागि ३२ जना र एशोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जना प्रतिस्पर्धामा छन् । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसी निर्विराेध हुनु भएकाे छ ।
भाेली चैत २९ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । पहिलो चरणमा कुनै उम्मेद्वार निर्वाचित हुन नसकेमा बढी मत ल्याउने दुई जनाका किच दोस्रो चरणका लागि चैत ३० गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदानकाे कार्यतालिका बनाईएकाे छ ।