लुम्बिनीमा बहुमतको सरकार गठनको लागि पदेश प्रमुखको आह्वान : तीन दिनको म्याद

1.3K

लुम्बिनीमा बहुमतको सरकार गठनको लागि पदेश प्रमुखको आह्वान : तीन दिनको म्याद

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई बहुमतका आधारमा प्रदेश सरकार गठनको लागि आह्वान गर्दै तीन दिनको समय दिनु भएको छ । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरुको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित दावी प्रस्तुत गर्न यहि बैशाख १४ गते अपरान्ह ४ बजेसम्मको समय दिनुभएको हो ।
लुम्बिनी प्रदेशमा गत पुस २७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा सरकार गठन भएको थियो । तर केन्द्रमा राजनीतिक समिकरण बदलिएसंगै प्रदेशमा पनि माओवादी केन्द्र सहितका दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न सक्नु भएन भने प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र समेतका दलहरुले स्पष्ट बहुमत देखिने हस्ताक्षरसहित संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको माग दावी गरेका थिए ।
त्यस्तै एमालेले पनि धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा सरकार गठनको लागि प्रदेश प्रमुख समक्ष दावी गरेको थियो । मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको र प्रदेश सभामा प्रतिनिधीत्व गर्ने प्रतिपक्षका अन्य दलहरुलाई तत्काल विश्वासमा ल्याउन सक्ने आधार पनि नदेखिएको तथ्यलाई देखाउँदै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनको लागि आह्वान गर्नुभएको हो ।