बुटवलदेखि पाल्पाको ऐतिहासिक बसन्तपुर जोड्ने गरी निर्माण भईरहेको लुम्बिनी केवलकार सञ्चालनको अन्तिम तयारी भएको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माणको काम सम्पन्न भएको र अहिले प्राविधिक परीक्षणको काम भईरहेको लुम्बिनी केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भयो ।
उहाँका अनुसार यहि जेठको ८ गतेदेखि नियमित सञ्चालनको तयारी गरिएको छ । ‘यहि १० गतेदेखि कमर्सियल अप्रेसनमा ल्याउनेगरी काम गरिरहेका छौं’,– उहाँले भन्नुभयो । त्यस्तै सम्भवतः जेठको १२ देखि १८ गतेसम्म बसन्तपुरमा निर्माण गरिएको कामाक्षा देवी मन्दिरमा महायज्ञ सञ्चालन गरिने र त्यहि महायज्ञकै विचमा औपचारिक उद्घाटन गरिने उहाँले बताउनु भयो । लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने बसन्तपुर लैजानेगरी बुटवलको वडा नं. ३ बमघाटमा आधार स्टेशन निर्माण गरिएको छ । जसको टप स्टेशन बसन्तपुरमा छ । यो केवलकारको दुई साढे २ किलोमिटर हो ।

यो केवलकारमा २५ वटा गोण्डुला (बाकस) रहेका छन्् । एउटा गोण्डुलामा ८ जना यात्रु सवार गर्न मिल्छ । यसमा प्रतिघण्टा ६ सय यात्रु आवतजावत गर्न सक्नेछन् । यो केवलकार नियमित रुपमा सञ्चालनमा आउँदा दैनिक ५ हजार जनालाई ओहोरदोहार गराउन सकिने अध्यक्ष ढकालले बताउनु भयो । केवलकार, आधार स्टेशन, टप स्टेशन, बसन्तपुरमा क्यासिनो सहितको १५० कोठा भएको पाँच तारे होटल, कामाक्षा देवी मन्दिर, छुट्टा छुट्टै भेज नन्भेज रेष्टुरेन्ट, बार तथा पार्क सहितका संरचना निर्माणमा करिव ५ अर्व लगानी भएको अध्यक्ष ढकालले बताउनु भयो ।
बसन्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्य सहित त्यसको आधारको रुपमा केवलकार निर्माण गरिएको हो । यसले पाल्पाको बसन्तपुर क्षेत्रमा नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र आसपासको पर्यटन विकास संगै आर्थिक गतिबिधिलाई पनि चलायमान बनाउने उहाँको भनाई छ । यो केवलकारको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गर्नुभएको थियो ।