आर्थिक मन्दिका कारण पर्यटन उद्योगको रुपमा रहेको होटल व्यवसाय धाराशायी भएको भन्दै घरबहाल शुल्क घटाउन होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले घरधनीसंग आग्रह गरेको छ । सञ्चालन भईरहेका होटल व्यवसाय बन्द गर्नुपर्ने अवस्था आयो भने त्यसको असर घरधनीलाई पनि पर्ने भएकाले त्यसतर्फ वेलैमा सोँचेर आफ्नो घरमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई राहत प्रदान गर्न संघले आग्रह गरेको हो ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरेर कम्तिमा ४० प्रतिशत घरभाडा छुट गर्न आग्रह गरेको हो । पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले कोराना महामारीबाट उठ्न नपाउँदै बैंक तथा वित्तिय संस्थाले बृद्धि गरेको चर्को व्याजदर र त्यसपछि उत्पन्न भएको आर्थिक मन्दि र प्रदेश राजधानी स्थानान्तरणका कारण रुपन्देहीमा सञ्चालन भएका ४० प्रतिशत भन्दा बढी होटल व्यवसायी पलायन हुने स्थिती आएको बताउनु भयो ।
यस्तो अवस्थामा व्यवसायलाई बचाउन सकिएन भने त्यसबाट उत्पन्न हुने परिस्थितीजन्य व्ययभार घरधनी स्वयमलाई पनि हुने भएकाले घरभाडा घटाएर व्यवसायीलाई राहत दिन र परिस्थितीजन्य जोखिम रोक्न सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । आर्थिक मन्दिका कारण अहिले रुपन्देहीका अधिकाँश होटल व्यवसाय सुनसान छन् । अहिलेको स्थितीमा होटलको अपेटिङ कस्ट र कर्मचारी धान्न पनि धौ–धौ भएको संघका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले बताउनु भयो ।
रुपन्देहीको पर्यटन क्षेत्रमा मात्रै ३० खर्व बढीको लगानी रहेको वरिष्ठ उपाध्यक्ष खनालले बताउनु भयो । जसमा सरकारले लगानी गरेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र समेत समावेश छ । रुपन्देहीको पर्यटन उद्योग धाराशायी हुँदा सरकारले गरेको लगानी समेत जोखिममा पर्नेछ । त्यसबाहेक रुपन्देही जिल्लामा नीजि क्षेत्रको लगानीमा तीन वटा फाईभ स्टार, ४ वटा फोर स्टार, १४ वटा थ्री स्टार । स्टार नलिएका त्यहि लेवलका अरु धेरै होटल तथा लज छन् । जिल्लामा रेष्टुरेन्ट बाहेक १ हजार २४७ वटा लज सहितका होटल रहेका छन् । जसमा १८ हजार ७०५ वटा कोठा छन् । त्यसमा २८ हजार ५७ वटा वेड छ ।
आर्थिक मन्दिका कारण आफ्नो व्यवसाय धान्न नसकेर संघमा आवद्ध १ हजार २०३ होटल व्यवसायीमध्ये ५ प्रतिशत व्यवसायी पलायन भईसकेको र अरु ३५÷४० प्रतिशतले विकल्प खोजिरहेको अध्यक्ष भण्डारी बताउनु हुन्छ । संघको यो अभियानमा साथ दिएर २० प्रतिशतभन्दा बढी भाडा घटाउने घर धनीलाई संघले सम्मान गर्ने कार्यक्रम ल्याएको महासचिव अर्जुन थापाले जानकारी गराउनु भयो । त्यस्तैगरी संघले घरभाडा छुट गर्ने घरधनीलाई बहालकरमा छुट गर्न, व्यवसायीलाई व्यवसाय कर तथा फोहोरमैला शुल्कमा सहुलियत प्रदान गर्न पनि आग्रह गरिएको छ ।
पत्रकार सम्मेलनमा बुटवल ९ का वडा सदस्य भरत पुरीले आर्थिक मन्दिका कारण अहिले विकराल स्थित आउन लागेको बताउँदै यसको सामनाको लागि सबैको सहकार्य आवश्यक रहेको भनाई राख्नुभयो । घरधनी रविलाल पोखरेलले आफ्नो घरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायी आफ्नै परिवारकै सदस्य सम्झेर आफूले २ महिना अगाडि नै २० प्रतिशत भन्दा बढी हुनेगरी घरभाडा छुट गरेको बताउनु भयो । उहाँले अरु घरधनीलाई पनि यो अभियानमा साथ दिन आग्रह गर्नुभयो ।