कविन्द्र नेपाल /
बि.सं. १७६२/०६३ तिर सुरु भएको बटौली बजारमा २०२६/०२७ सालसम्म उत्तिकै चहलपहल थियो । तर २०२२ सालमा उत्तरदक्षिणको सिद्धार्थ राजमार्ग र २०२६ सालमा पूर्वपश्चिम महेन्द्र राजमार्ग बनेपछि बजार विस्तार हुँदै तिनाउ नदि भन्दा पूर्वतर्फ सर्यो भने बटौली बजार सांगुरिँदै गएको छ ।
ईतिहासका जानकारहरुका अनुसार बि.सं. १७६२/०६३ ताका पाल्पाली राजा मणिमुकन्द सेनले व्यापार जानेका कश्मीरका कसौधनलाई व्यापारको लागि बटौलीमा राखेका थिए । हालको बुटवल उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने पुरानो बटौली बजारमा त्यसबेला पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ लगायतका पहाडि जिल्लामा उत्पादन हुने घ्यू, अदुवा, वेसार, मह लगायत जडिबुटीसंग नुन तथा लत्ताकपडा साट्न आउँथे ।
पुरानो बटौलीका जानकार बटौली संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष रबिन्द्रगोपाल लाकौलका अनुसार २०२६ सालमा पूर्वपश्चिम महेन्द्र राजमार्ग बनेपछि पुरानो बटौलीको बजार तिनाउ नदि पूर्वतर्फ सर्यो ।
त्यसबेला बटौलीसंगै जोडिने नवलपरासी, कपिलबस्तु सहित पहाडी पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, वागलुङ, प्युठान लगायत २०/२२ जिल्लाको व्यापारको केन्द्र बनेको थियो । पाल्पाली राजा मणिमुकन्द सेनको सीतकालिन दरवार पनि यसै क्षेत्रमा थियो । जहाँ अहिले फूलवारी (मणिमुकुन्द उद्यान) बनेको छ । त्यसभित्र अहिलेपनि मणिमुकुन्द सेनको सितकालिन दरवारको भग्नावशेष छ ।
नेपालमाथि अग्रेजले गरेको आक्रमणमा जीत हात पारेको गढि किल्ला पनि त्यसै क्षेत्रमा पर्दछ । नेपालले जीत हात पारेपछि उक्त गढी किल्लालाई जीतगढी किल्ला भनिन्छ । त्यसबाहेक मणिमुकुन्द सेनले काठमाण्डौबाट आएपछि स्थापना गरेको भैरवको मन्दिर पनि त्यसै क्षेत्रमा छ । यो मन्दिरलाई पाल्पाको भैरवस्थान मन्दिरभन्दा पनि पुरानो मानिन्छ । त्यो मन्दिर कहिले स्थापना भयो ठ्याक्कै भन्न नसकिएपनि पाल्पाको भैरवस्थान मन्दिर १४ औं शताब्दी तिरको भएकाले त्यो भन्दा पनि बुटवलको पुरानो भएको त्यसका जानकार रविन्द्र गोपाल लाकौल बताउनु हुन्छ ।
२०२२ सालमा उत्तरदक्षिणको सिद्धार्थ राजमार्ग बनेपछि सडकसंगै जोडिएर आउने व्यापार व्यवसायको सम्भावना पनि बटौलीबाट खस्यौलीतर्फ स्थानान्तरण हुन थालेको हो । राजमार्ग बनेपछि लक्ष्मीनगरदेखि अमरपथ सम्म आवादी सुरु भयो । राजमार्ग नबन्दासम्म तिनाउ नदिको बगरक्षेत्रमा जंगलले ढाकिएको थियो । पूर्वपश्चिम र उत्तरदक्षिण राजमार्ग बनेपछि तिनाउ नदिपूर्व बस्तीसंगै व्यापार विस्तार हुन थालेको लाकौले बताउनु भयो ।
अहिले बटौली बजारको पुनःउत्थान गर्ने विषयमा चौतर्फी बहस हुन थालेको छ । पुरानो बटौली बजारको ऐतिहासिक महत्वलाई आत्मसात गरेर बुटवल उपमहानगरपालिकाले पनि यसको संरक्षण र विकासको लागि कामको सुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाले नेपालले अंग्रेजलाई हराएको जीतगीढी किल्लाको मर्मतसम्भार तथा सौन्दर्यकरण गरेको छ । जहाँ प्रत्येक वर्ष विजयोत्सव मनाउँदै आएको छ । त्यस्तै बटौली बजारमा जीतगढी युद्ध संग्रहालय निर्माणको काम भईरहेको छ भने बटौली बजार संरक्षणको लागि तिनाउ नदिमा तटबन्धनको काम भईरहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिनु भयो । तिनाउ तटबन्धन गरेर नदि किनारमा आरती केन्द्र सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकसंगै धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने उहाँको भनाई छ । त्यस्तै नगरपालिकाले यस विषयलाई स्थानीय पाठ्यक्रममा समेत समावेश गरेको उहाँले बताउनु भयो ।
त्यसो त यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा उल्लेख्य योगदान गरेको बुटवल उद्योग वाणिज्य संघले पनि पुरानो बटौली बजारको ऐतिहासिक महत्वलाई उजागर गर्दै बटौली बजारको संरक्षण र विकासमा जोड दिएको छ । बुटवल उद्योग वाणिज्य संघले बटौली बजारका बारेमा अध्ययन तथा परामर्श लिनको लागि कार्यसमिति सदस्य प्रतिक पोखरेलको संयोजकत्वमा समिति नै बनाएर काम अगाडि बढाएको छ । संयोजक पोखरेलका अनुसार पुरानो बटौली बजारको संरक्षण, विकास र त्यसका माध्यमबाट आर्थिक गतिबिधि बढाउने गरी एउटा अवधारणा पत्र तयार पारिएको छ । जसमा ऐतिहासिक, सामाजिक तथा धार्मिक लगायतका कुराहरुलाई व्यापारमा रुपान्तरण गर्न खोजिएको उहाँले बताउनु भयो ।
‘बटौली’ ऐतिहासिक महत्वको भएकाले त्यसको संरक्षण, बिकास र प्रवद्र्धन गर्न सकियो भने त्यहाँको पर्यटन विकास र त्यसका माध्यमबाट आर्थिक गतिबिधि बढाउन सकिन्छ भन्ने मान्यताका साथ संघले त्यसको संरक्षण र विकासको लागि पैरवी गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य समेत रहेका वुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो ।
पुरानो बटौली बजार बुटवलको ईतिहास हो । ईतिहासको संरक्षणसंगै त्यसको ऐतिहासिक महत्वको प्रचारप्रसार गर्न सक्ने हो भने त्यसका माध्यमबाट त्यहाँको आर्थिक कृयाकलाप समेत बढाउन सकिन्छ । पुरानो बटौलीमा गणेशथान मन्दिर, गुम्बा र मुस्लिमको मस्जिद पनि भएकाले बटौलीको संरक्षण र बिकास तथा स्थानीय संस्कृतीलाई उजागर गर्न सकियो भने पनि पर्यटनको राम्रो गन्तव्यको रुपमा बिकास गर्न सकिने वडा नं. १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतको भनाई छ । ‘त्यसमा सबैको साथ र सहकार्य आवश्यक छ’ उहाँले भन्नुभयो ।