कोशी प्रदेश सरकार ढलेको छ । कोशी परदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्बोच्च अदालतले बदर गरिदिएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।
असार २१ मा काँग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीमा दावी गर्दा सभामुख बाबुराम गौतमले समेत समर्थन गर्नुभएको थियो । त्यसैका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । तर एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखको समर्थनबाट सरकार बन्नु गैरसंवैधानिक हुने भन्दै संविधानको धारा १६८ (३) अनुसार संसदमा ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गर्नुभएको थियो ।
तर सर्बोच्चले एमाले नेता कार्कीको चाहना अनुसार मुख्यमन्त्री नियुक्ति गर्न परमादेश भने गरेको छैन । सर्बोच्चले सात दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश गरेको छ । बहुमत नपाए अर्को धारामा जान पनि बाटो खोलिदिएको छ । जस अनुसार अब संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुने र कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलले सरकार बनाउन पाउने छ । ९३ सदस्यीय प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो ।