रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ७ मिडियाचोकमा रहेको मर्चवार सन्देश साप्ताहिक पत्रिकाको कार्यालयमा तोडफोड भएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ७ मिडियो चोकमा रहेको कार्यालयमा सोमबार राती ९ बजेको समयमा मर्चवारी गाउँपालिका वडा नं. १ सेमराका रिंकु ढाडी, हरिनगढेका अजय यादव, कचहिरवाका विकास यादव, वडा नं. ३ सेमराका अमर यादव समेतको संलग्नतामा तोडफोड भएको हो ।
नेपाल प्रेस युनियन रुपन्देहीका कार्यसमिति सदस्य तथा नेपाल पत्रकार महासंघका साधारण सदस्य हृदयराम गुप्ता सम्पादक रहेको उक्त पत्रिकाको कार्यालय तोडफोडको घटना प्रति नेपाल पत्रकार महासंघ रुपन्देही, नेपाल प्रेस युनियन रुपन्देही लगायतका पत्रकारका पेशागत संघसंगठनले खेद व्यक्त गर्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारवाहीको माग गरेका छन् । नेपाल पत्रकार महासंघले मंगलबार एक विज्ञप्ती जारी गरी दोसीलाई कडाभन्दा कडा कारवाहीको लागि माग गरेको छ ।
त्यस्तै नेपाल प्रेस युनियन रुपन्देहीले घटनाले पत्रकार र सञ्चारगृह कतिसम्म असुरक्षित छन् भन्ने सन्देश दिएका उल्लेख गर्दै आक्रमणमा जोसुकै व्यक्ति संलग्न भएको भएपनि तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग गरेको छ ।
समाचारका विषयमा चित्र नबुझे त्यसको लागि कानुनी बाटो हुँदाहुँदै यस प्रकारको घटना घटाउनु निन्दनीय कार्य भएको बताउँदै अपराधिक गतिबिधिमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न र कानुनी दायरामा ल्याउन माग गरेको हो ।