लुम्बिनी प्रदेश सभाले ‘स्थानीय तहमा प्रदेश सभा’ कार्यक्रम सञ्चालन गर्ने

1.3K

लुम्बिनी प्रदेश सभाले ‘स्थानीय तहमा प्रदेश सभा’ कार्यक्रम सञ्चालन गर्ने

लुम्बिनी प्रदेश सभाले स्थानीय तहमा प्रदेश सभा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । निर्माण भएका कानुनको कार्यान्वयनको पक्ष, अब बन्ने कानुनमा एकरुपता ल्याउन र प्रदेश सभा र स्थानीय सरकार विच कानुनी रुपमा चिनजान नभएपनि आपसी समन्वयका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जानकारी गराउनु भयो ।
‘स्थानीय सरकारले प्रदेश सरकारलाई चिन्छ, तर प्रदेश सभालाई चिन्दैन ।’ उहाँले भन्नुभयो–‘कानुनी रुपमा स्थानीय सरकार र प्रदेश सभाको विचमा कुनै प्रकारको समन्वय नै छैन ।’ प्रदेश सभाले बनाएका कानुन स्थानीय सरकारलाई पनि आवश्यक पर्ने र त्यो कानुन स्थानीय सरकारले बनाउँदा नबाझिने हुनुपर्ने भएपनि समन्वयको अभावमा कतिपय कानुन बाभिएका पनि हुन सक्ने भएकाले त्यस्तो समस्या आउन नदिनको लागि पनि समन्वय आवश्यक रहेको सभामुख घर्तीले बताउनु भएको हो ।
सभामुख घर्तीले आईतबार बुटवलमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो । उक्त कार्यक्रममा उहाँले संघीय, प्रदेश र स्थानीय तीन वटै सरकारले कानुन निर्माण गरिरहेको र एक आपसमा बाझिएको छ वा छैन भन्नेसम्मको अध्ययन गर्ने निकाय नहुँदा पनि यसलाई कसरी समाधान गर्न सकिएला भन्ने जिज्ञासा राख्नुभएको थियो । त्यस्तै उहाँले कानुन बनिरहे पनि कार्यान्वयन पक्ष कमजोर रहेको औंल्याउनु भयो ।
त्यस अवसरमा पत्रकारहरुले बनेका कानुनको अध्ययन गर्न र अव बन्ने कानुनको लागि समेत सुझाव दिनेगरी विज्ञ समिति गठन गर्न सुझाव दिएका छन् । कार्यक्रममा वरिष्ठ पत्रकार माधव नेपालले कानुन निर्माण गर्दा कार्यान्वयनमा सहज हुने खालको कानुन बनाउन सुझाव दिनुभयो । उहाँले एउटा मिडिया हाउसले विभिन्न नाममा १२/१३ ठाउँमा कर बुझाउनु पर्ने बाध्यता रहेको औंल्याउँदै कर तिर्नको लागि एकद्वार प्रणाली बनाउन सुझाव दिनुभयो ।
त्यस्तै बनेका कानुन बाझेका छन् वा छैनन् अध्ययन गर्न विज्ञ समिति बनाउन र अब बनाईने कानुन अझै बढी अध्ययन गरेर बनाउन समेत सुझाव दिनुभयो । त्यस्तै संघीय मामिला पत्रकार समाजका अध्यक्ष विष्णु घिमिरेले कतिपय बनिसकेका कानुनमा डुब्लिकेसनको समस्या आएको बताउँदै त्यस्ता समस्या नआउने गरी काम गर्न सुझाव दिनुभयो ।