अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका छ : उपप्रमुख गुरुङ

1.3K

अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका छ : उपप्रमुख गुरुङ

देवदह नगरपालिकाकी नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले अधिकार प्राप्तिका निमित्त बिभिन्न समयमा भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसका अवसरमा फोनिज रुपन्देहीद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा उपप्रमुख गुरुङले सो कुरा बताउनुभएको हो ।
‘राष्ट्रिय जनागणना २०७८ नतिजा र आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले हक अधिकार प्राप्तिका लागि आवाज उठाउदैं धर्म संस्कृति रितिरिवाजको रक्षाका लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । उपप्रमुख गुरुङले नेपालको सन्दर्भमा श्रमजीवी पत्रकारहरुको अवस्था जटिल र चुनौतीपूर्ण रहेको बताउदैं बाधा अड्चनको सामना गर्दै सत्य तथ्य बुझेर पत्रकारिता गर्न सुझाव सहित शुभकामना दिनुभयो ।
कार्यक्रममा फोनिज रुपन्देहीका अध्यक्ष सानु थापाले पत्रकारिता पेशासँग जोडिएका सम्पूर्ण संचारकर्मीहरुको हकहितको पक्षमा फोनिज सधै लागि रहेको बताउनुभयो । भाषा, धर्म संस्कृति र रितिरिवाजको संरक्षण गर्दै सुशासन र समाज रुपान्तरणका लागि पत्रकारले कलम चलाउनु पर्ने अध्यक्ष थापाको भनाई थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ समन्वय देवदहका अध्यक्ष मिनाकुमारी श्रेष्ठ, फोनिज लुम्बिनी प्रदेश इन्चार्ज मिलन गाहा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, फोनिज रुपन्देहीका पूर्व सचिव यम राना, नेपाल मगर संघ देवदहका अध्यक्ष शोभाकुमारी थापा, देवदह – ९ का वडा सदस्य कृष्णमाया राना लगायतले मन्तब्य व्यक्त गर्दै भाषा, संस्कृतिको संरक्षणसंगै कार्ड बोक्ने पत्रकार नभएर काम गर्ने पत्रकार बन्न सुझाव सहित शुभकामना दिनुभयो । कार्यक्रम संस्थाका उपाध्यक्ष प्रेम थापाको स्वागत र सचिव राज चौधरीको संचालनमा सम्पन्न भएको थियो ।