देशका अधिकाँस स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुन सम्बन्धि विशेष बुलेटिन जारी गर्दै आईतबार भारीदेखि धेरै भारीसम्मको वर्षाको पूर्वानुमान गरिएको जानकारी गराएको हो । महाशाखाका अनुसार देशभर पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको र कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै सोमबार पनि धेरै भारी वर्षाको सम्भावना रहेको छ । सोमबार देशभर सामान्य देखि पूर्णतया बदली रहि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले छ । कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव, शहरी क्षेत्रहरूमा डुवानको जोखिम रहेको र ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले दैनिक जन–जीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा रहन महाशाखाले अनुरोध गरेको छ ।