पुष्पा टण्डन मृत्यु प्रकरण : चारजना पक्राउ

1.3K

पुष्पा टण्डन मृत्यु प्रकरण : चारजना पक्राउ

रुपन्देहीको तिलोत्तमाकी ३६ वर्षीय पुष्टा टण्डनको मृत्युको अनुसन्धानको लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राइभरटोलमा बस्ने पुष्पाको यहि साउन २७ गते सैनामैना नगरपालिका सालझण्डी नजिकै फाइरलाईन जंगलमा रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । गुल्मी दरबार गाउँपालिकाकी पुष्पा टण्डन छोरा र छोरीको साथमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा बस्दै आउनु भएको थियो ।
पुष्पाका आफन्तले छिमेकी रञ्जित भुसाल र भुसालकी पत्नी लक्ष्मी पोखरेल भुसाल विरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा प्रहरीले रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी सहित चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले किटानी जाहेरीका आधारमा आवश्यक अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको बताउनु भएको छ । पक्राउ परेका अन्य दुई जनाको नाम भने खुलाईएको छैन । आफन्तले पुष्पा आफैं झुण्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै दोषीलाई कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका पुष्पाका श्रीमान श्रीमतिको मृत्युपछि घर आउनु भएको छ । आफन्तहरुका अनुसार छिमेकी रञ्जित भुसालले पुष्पासँग १७ लाख रुपैयाँ सापटी लिएको र सोही रकमका कारण घटना भएको दाबी गरेका छन् ।