बुटवलमा सञ्चालित प्रौढ बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको बुधबार बुटवलमा सम्पन्न १८ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को शेयर लाभांश १८ प्रतिशतले ४१ लाख ७७ हजार ८ सय रुपैंया र संरक्षित पुँजी फिर्ता कोष २२ लाख १ हजार ८०८ रुपैंया सम्बन्धित शेयर सदस्यहरुको नियमित मासिक बचत खातामा जम्मा गर्ने निर्णय गरेको हो ।
त्यस्तै साधारण सभाले सहकारी मर्ज गर्ने नीतिलाई निरन्तरता दिएको छ । सहकारी मर्ज गर्ने सरकारी नीति अनुसार अन्य संस्थाबाट मर्जको प्रस्ताव आएमा अध्ययन गरी आवश्यक निर्णय लिन सञ्चालन समितिलाई अख्तियारी दिईएको छ ।
साधारण सभामा संस्थाको स्थापना तथा लामो समय अध्यक्ष रहि संस्थालाई योगदान गरेवापत निवर्तमान अध्यक्ष, वरिष्ठ सल्लाहकार तिलकराम पौडेल, पूर्व कोषाध्यक्ष तथा सल्लाहकार रुद्रबहादुर अधिकारी, सल्लाहकार विना गुरुङलाई सम्मान गरिएको छ । त्यस्तै जेष्ठ शेयर सदस्यमध्येबाट भवानी प्रधानाङ्ग, रम्भादेवी चुके, चेयरसिंह थापा र नन्दलाल पाण्डे तथा धेरै शेयर सदस्य बनाउने विजयकुमार श्रेष्ठ, सुमित्रा आचार्य, ऋषिराम घिमिरे, लोकनाथ पाण्डे र गौरा केसीलाई पनि सम्मान गरिएको छ ।

साधारण सभामा अध्यक्ष भरतराम भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भूपति भुसालले प्रस्तुत गरेको लेखा प्रतिवेदन र कोषाध्यक्ष रीता सेन ओलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।
साधारण सभामा प्रदेश वचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपाल, निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार तिलकराम पौडेल, सल्लाहकार विना गुरुङ, सल्लाहकार प्रा. आनन्दमान सिंह शाक्य, शेयर सदस्य प्रभा अर्याल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष विजयकुमार श्रेष्ठको स्वागत तथा सचिव मोतिराज पौडेलको सञ्चालनमा भएको थियो ।