नेपाली काँग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनको तयारी

1.3K

नेपाली काँग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनको तयारी

नेपाली काँग्रेसले प्रथम लुम्बिनी प्रदेश सम्मेलनको तयारी गरेको छ । यहि मंसिर १६ र १७ गते बुटवलको बुटवल सम्मेलन केन्द्रमा गर्न लागिएको प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोईराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रदेश सम्मेलनको बारेमा जानकारी गराउन सोमबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश सभापति अमरसिंह पुनले बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्नेगरी तयारी गरिएको जानकारी गराउनु भयो । उहाँका अनुसार प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ ।
सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनीधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरु, प्रदेशबाट केन्द्रमा प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागि हुनेछन् । सम्मेलनको उद्घाटनको दिन १६ गते भने पार्टीका नेता कार्यकर्ता समेत गरी ७ देखि १० हजार जनाको सहभागिता हुने पनि उहाँले जानकारी गराउनु भयो ।