बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरुवात भएको छ । शनिवार एक समारोहका बीच धाम निर्माणको पुनः सुरुवात गरिएको हो । विश्व शान्ति धाम निर्माणमा सक्रिय श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, अमेरिकन दुतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर विश्वशान्ति धाम निर्माण पुनः सुरुवात गर्नुभएको हो ।
समारोहमा गुरु रिन्पोछेले कोभिड अघि निर्माण सुरु गरेर रोकिएको काम पुनः सुरुवात गरिएको बताउनु भयो । उहाँ नेपाल भौतिक रुपमा कम्जोर भएपनि संसारको सबै भन्दा धनी हुने श्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । करोडौं विदेशीहरु बुद्धको धर्मको लागि लालायित भएको भन्दै उहाँले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तराष्ट्रियकरण गर्न मदत गर्ने विश्वास व्यक्त गर्नुभयो । यो आयोजना लुम्बिनीको लागि मात्रै नभई संसारकै लागि शान्तिको प्रतिक बन्ने उहाँको भनाई छ । उपाध्यक्ष लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरुको सहयोगबाट यो निर्माण हुने बताउनु भयो ।
नेपालका लागि अमेरिकन राजदुतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरुलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उहाँको भनाई छ ।
कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तर्राष्ट्रिय अभियान्ता माइकल संङ्ग र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गर्नुभएको थियो । ३४ सय बर्गमिटर क्षेत्रफल र ४४ मिटर उचाइको विश्व शान्ती धाम ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसको निर्माण सम्पन्न हुँदा ४ अर्व रुपैंया लागत अनुमान गरिएको छ ।