नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार सिफारिस गर्न पार्टीको जिल्ला कार्यसमितिलाई निर्देशन गरेको छ । यहि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश समितिले प्रदेशका १२ वटै जिल्लाबाट एक जना उम्मेवार सिफारिस गर्न निर्देशन गरेको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनको अध्यक्षता आईतबार बुटवलमा बसेको बैठकले प्रदेशका १२ वटै जिल्लाबाट एक एक सिफारिस गरेर पठाउन निर्देशन दिने निर्णय गरेको हो । बैठकले हालै सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उपलब्धि मूलक भएको ठहर गर्दे सम्मेलनमा पारित भएका कार्यदिशालाई कार्यान्वयन गर्ने निर्णय गरिएको प्रदेश महामन्त्री बिक्रम खनालले जानकारी गराउनु भयो ।
यस्तै प्रदेशमा रहेका स्थानीय तहमा नेपाली काँग्रेसबाट जितेका प्रतिनिधिको काम कारबाही अनुगमन गर्न पार्टीको प्रदेश तहबाट टोली खटाउने निर्णय भएको पनि पार्टी कार्यालय मुख्य सचिव मोहनराज शर्माले जानकारी गराउनु भयो ।