‘लुम्बिनी न्याय वाटिका’ लोकार्पण : न्यायपालिका सुधारमा बार अध्यक्ष घिमिरेको जोड

1.3K

‘लुम्बिनी न्याय वाटिका’ लोकार्पण : न्यायपालिका सुधारमा बार अध्यक्ष घिमिरेको जोड

नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय बुटवलले प्रकाशन गरेको पुस्तक ‘लुम्बिनी न्याय वाटिका’ लोकार्पण गरिएको छ । परिषदले मंगलबार बुटवलमा लुम्बिनी न्याय वाटिका लोकार्पण एवम् कानुन व्यवसायीहरुको क्षमता अभिबृद्धि सम्बन्धि तालिम उद्घाटन समारोहमा नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै बार अध्यक्ष घिमिरेले न्यायालय सुधारमा जोड दिनुभयो । उहाँले नेपालको न्यायालयले आफ्नो हाईट आफू घटाईरहेको बताउँदै न्यायपालिकाको संरचनामा पुनसंरचना गर्नुपर्ने खाँचो औंल्याउनु भयो । उहाँले न्यायाधिश नियुक्तिमा पनि वैज्ञानिक प्रणाली अपनाउनु पर्ने भनाई राख्नुभयो । उहाँले नेपाल बार अहिलेसम्म मुलुकको परिवर्तनको आन्दोलनमा लिड गरेको बताउँदै अवको आन्दोलन पेशागत सुधारको लागि हुने बताउनु भयो । उहाँले त्यसका लागि देशभर प्रशिक्षणको कार्यक्रम भईरहेको बताउँदै मुलुकको शासकीय संरचना अनुसार नेपाल बारको तहगत संरचनालाई पनि व्यवस्थित र मजबुद बनाउने कुरामा लागिपरेको भनाई राख्नुभयो ।

लुम्बिनी न्याय बाटिका प्रकाशन समितिका संयोजक, नेपाल कानुन व्यवसायी परिषदमा लुम्बिनीबाट निर्वाचित पार्षद बाबुराम पाण्डेले लुम्बिनी प्रदेशमा प्रशिक्षणका धेरै कार्यक्रम भईसकेको बताउँदै यो प्रशिक्षणले नयाँ पुस्ताका अधिवक्ताहरुलाई लाभ हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा न्याय परिषदका पूर्व सदस्य वरिष्ठ अधिवक्ता डा. उपेन्द्र केशरी न्यौपाने, परिषदका पार्षद डा. चन्द्रकान्त ज्ञवालीले नेपाल बारले कानुन व्यवसायीलाई करको दायरामा लगेको बताउँदै अहिलेसम्म १४ हजार कानुन व्यवसायी करको दायरामा जोडिईसकेको जानकारी गराउनु भयो । त्यस्तै पछिल्लो २÷३ वर्षको बिचमा कानुन व्यवसायीबाट १ अर्व बढी राजश्व राज्यलाई बुझाएको पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा भारत उत्तरप्रदेश बार काउन्सिलका प्रतिनीधि दिव्यप्रकाश मिश्रा, नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष पशुपति भण्डारी, परिषदका पूर्व सदस्य वरिष्ठ अधिवक्ता शालिकराम वञ्जाडे, लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता प्रा. डा. बुद्धबहादुर थापा, न्यायाधिश डा. प्रकाश उप्रेती, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरीप्रसाद अर्याल, बुटवल बारका अध्यक्ष कैलाश ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्दै प्रकाशित पुस्तक न्यायिक क्षेत्र बाहिरकालाई पनि उपयोगि हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
यसैविच कानुन व्यवसायीहरुको क्षमता बृद्धको लागि आयोजना गरिएका तालिम सातदिन सम्म सञ्चालन गरिने छ । तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका १५ वटा बार इकाईबाट ३५ जना सहभागी रहेको परिषदका पार्षद बाबुराम पाण्डेले जानकारी गराउनु भयो । तालिममा बारका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे, परिषदका पार्षद डा. चन्द्रकान्त ज्ञवाली, न्यायाधिश डा. प्रकाश उप्रेती, न्यायाधिश उपेन्द्र कोईराला लगायतले प्रशिक्षण गर्नुहुने छ ।