संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा श्रेष्ठ

1.3K

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा श्रेष्ठ

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लुम्बिनीमा नेतृत्व परिवर्तनसंगै पद हस्तातरण गरिएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लुम्बिनीमा यो वर्ष नेपाल ट्रेड युनियन काँग्रेसले पाएसंगै लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठलाई पद हस्तान्तरण गरिएको हो । यस अगाडि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लुम्बिनीमा जिफन्टको तर्फबाट प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेले नेतृत्व गर्नुभएको थियो ।
बिहिबार बुटवलमा भएको नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लुम्बिनीका अध्यक्ष तथा नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनीका अध्यक्ष काजिमान श्रेष्ठले सरकार, रोजगारदाता र श्रमिक विचको सम्बन्ध सुमधुर बनाउनको लागि आफूले विशेष भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले श्रम ऐन कार्यान्वयनमा पनि जोड दिनुभयो । त्यसको लागि सरकार र रोजगारदाता प्रतिवद्ध हुनुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा बोल्दै श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख गिरीराज ज्ञवालीले रोजगारदाताले श्रम अडित गर्ने प्रबृत्ति बढाउनु पर्ने बताउँदै त्यसमा विशेष भूमिका खेल्न ट्रेड युनियनलाई आग्रह गर्नुभयो । उहाँले कतिपय कुरा समाधान गर्नै नसक्ने खालका रहेको बताउँदै त्यसलाई समाधान गर्न कानुन आवश्यक रहेकाले कानुन निर्माणमा पहल गरिदिन पनि आग्रह गर्नुभयो ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लुम्बिनीका निवर्तमान अध्यक्ष तथा जिफण्टका लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेले हाल लुम्बिनी प्रदेशमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा ५ वटा ट्रेड युनियन आवद्ध रहेको र दुईवटा प्रकृयामा रहेको जानकारी गराउनु भयो । उहाँका अनुसार अहिले नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ र पेशागत महासंघ संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा रहेका छन् । त्यस्तै मदेशवादी ट्रेड युनियन महासंघ र समाजवादी ट्रेड युनियन महासंघ प्रकृयामा रहेको उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवलका प्रमुख खिम कार्की, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, पेशागत महासंघ लुम्बिनीका अध्यक्ष शिव पौडेल, नेपाल ट्रेड युनियन काँग्रेसका लुम्बिनी प्रदेश सचिव हिमबहादुर केसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।