इलाका प्रहरी कार्यालय बुटवलका नवआगन्तुक प्रहरी नायव उपरीक्षक विजयराज पण्डितलाई बुटवलमा स्वागत गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरिएको सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रनाउ पण्डितलाई स्वागत गरिएको हो ।
कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष लेखनाथ भण्डारीले होटल व्यवसायमा ठूलो लगानी भएको र अहिले भईरहेको व्यापारमा मन्दीले व्यवसायी पलायन हुने मात्रै नभई गरेको लगानी समेत खेर जाने स्थितीमा पुगेको बताउनु भयो । उहाँले पर्यटकीय क्षेत्रको विकास हुन सक्ने हो भने पर्यटकीय सेवा व्यवसाय पनि फस्टाउन सक्ने भएकाले यस क्षेत्रको पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनमा जोड दिनुभयो ।
उहाँले पछिल्लो समय बुटवल कालिकापथको सडकमा होटलमा भईरहेको लगानीयले त्यस क्षेत्रको अन्य व्यवसायलाई समेत सहयोग भएको बताउँदै यदाकदा हुने अमर्यादित गतिबिधिले समग्र व्यवसायलाई नै बदनाम गर्ने भएकाले मर्यादित रुपमा व्यवसायिक अनुशासन कायम गर्न सबैलाई आग्रह गर्नुभयो ।
त्यसअवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले बुटवलको व्यवसायिक विकास र प्रवद्र्धनको लागि नगरपालिका साथमै रहेको भनाई राख्नुभयो । उहाँले राजश्व निर्धारण गर्दा समेत व्यवसायिक संस्थाको नेतृत्वले दिएको सुझावका आधारमा निर्धारण हुने गरेको बताउँदै व्यवसायिक विकासमा अझै के गर्न सकिन्छ आफू साथमै रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै प्रनाउ पण्डितले नागरिकमा सुरक्षाको अनुभूति हुने गरी सुरक्षा व्यवस्था मिलाईएको, व्यवसायिक अनुशासन तथा मर्यादा कायम गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले होटल रेष्टुरेण्ट व्यवसायमा सुरक्षाको वढी व्यवस्थापन गर्नुपर्ने भएकाले बाह्य सुरक्षा व्यवस्थामा प्रहरी प्रशासनले गरेपनि आन्तरिक सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
संघका प्रमुख सल्लाहकार माधव नेपालले पर्यटनको प्रवद्र्धन र विकासको लागि सेवा उद्योग मात्रै नभएर गन्तव्यको पनि विकास तथा प्रचारप्रसार अपरिहार्य रहेको बताउनु भयो । उहाले बुटवल बिस्तारै केवलकारको सहरको रुपमा विकास हुँदै गएको बताउंदै यसका माध्यमबाट अन्य व्यवसायलाई पनि थप चलायमान गराउन सकिने भएकाले सबै मिलेर बुटवललाई पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार गर्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनाल, महासचिव अर्जुन थापा लगायतले प्रदेश राजधानी, अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका माध्यमबाट होटल तथा रेष्टुरेण्टमा ठूलो लगानी भएपनि राजधानी सर्नु र विमानस्थल र सम्मेलन केन्द्र नचल्दा होटल व्यवसायमा गरेको लगानी वालुवामा हालेको पानी जस्तै भएको बताउनु भएको थियो ।
त्यस अवसरमा संघले सञ्चालन गरेको सडक खाना महोत्सवमा सहयोग गर्ने, झाकी र्यालीमा सहभागी समुह तथा विभिन्न जिम्मेवारी लिएर काम गर्ने संयोजकहरुलाई सम्मान गरिएको थियो ।