बुटवलमा सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो ।
शनिबारदेखि बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान शुरु गरिएको हो । अभियानका क्रममा बुटवल भित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताउनु भयो । उहाँले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गरिने पनि जानकारी गराउनु भयो ।
बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उहाँले बताउनु भयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने जानकारी गराउनु भयो । बन्ध्याकरणपछि बुटवलमा सामुदायिक कुकुरहरुको संख्या वृद्धि रोकिने उहाँको भनाई छ । पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले ३ दिनसम्म चल्ने कार्यक्रममा बुटवलका सबै वडाहरुबाट कुकुर संकलन गरि तीनको बन्ध्याकरण गरिने बताउनु भयो ।
यसपटक वडा नम्बर १५ मा शुरु भएको अभियानमा बुटवलका सबै क्षेत्रका कुकुरहरु लगेर बन्ध्याकरण गर्ने उहाँले बताउनु भयो । हरेक वर्ष बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको संख्या वृद्धि हुन नदिन बन्ध्याकरण र रेबिज रोग फैलिन नदिन रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।