बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवस : विभिन्न कार्यक्रम गरिँदै

1.3K

बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवस : विभिन्न कार्यक्रम गरिँदै

बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । जसअन्तरगत अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता भएको छ भने अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ ।
यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना र नगरपालिका कर्मचारी एशोशिएशन बुटवल इकाइको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार नै बुटवल उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले कर्मचारीको भूमिकाले नगरको उन्नति प्रगतिमा महत्व राख्ने बताउँदै सकारात्मक भूमिका निर्वाहका लागि आग्रह गर्नुभयो । उहाँले नगरको विकास र समृद्धिमा पूर्व कर्मचारीको रुपमा सकारात्मक भावना र सकारात्मक सहयोगको अपेक्षा रहने बताउनु भयो । उहाँले जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलबिना नगरको विकास हुन नसक्ने बताउँदै त्यसतर्फ गम्भीर बन्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य र समन्वयले मात्रै नगरको विकास गर्न सम्भव भएकाले सोहीअनुसार प्रतिबद्ध रहन कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले कर्मचारीहरुले प्रतिबद्ध भएर काम गरेमा नगरको विकास सहज तरिकाले हुने बताउनु भयो ।
कार्यक्रममा पूर्व कर्मचारीहरु बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्याल, विष्णुप्रसाद खनाल, रामप्रसाद अर्याल, नरेन्द्र बस्नेत, नगरपालिका कर्मचारी एशोशिएशनका सितुप्रसाद श्रेष्ठ, अनिल माण्डव्य, रेश्मीराज घिमिरेलगायतले बोल्दै जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्य सधै अपरिहार्य रहने बताउनु भएको थियो ।