दुग्धजन्य बस्तुको भारी आयातले मिल्क होलीडे

1.3K

दुग्धजन्य बस्तुको भारी आयातले मिल्क होलीडे

रुपन्देहीमा आवश्यकता भन्दा बढी दुध तथा दुग्धजन्य बस्तुको आयातले मिल्क होडीलेको समस्या सिर्जना भएको छ । भारत लगायतका विभिन्न देशबाट नेपालमा ठूलो परिणाममा दुग्ध जन्य बस्तुको आयात हुने गरेको छ ।
दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले भन्सार विभागको तथ्यांक प्रस्तुत गर्दै चालु आर्थिक वर्षको पुस मसान्त सम्म १ अर्व ९३ करोडको दुग्धजन्य पदार्थको आयात र जम्मा ६ करोड रुपैंया बराबरको मात्रै निर्यात भएको बताउनु भयो । उहाँका अनुसार सरकारले दुग्धजन्य पदार्थको आयातमा रोक लगाउने हो भने मिल्क होलीडेको समस्या समाधान हुन्छ ।
केही समययता रुपन्देहीका पनि मिल्क होलीडेको समस्या सिर्जना भएको छ । जसका कारण सहकारीहरुले किसानबाट संकलन गरिएको ठूलो परिणाममा दुध पोखिरहेका छन् । रुपन्देही जिल्लामा ४७ वटा दुग्ध उत्पादक सहकारी संस्था छन् । रुपन्देहीमा दैनिक २४ हजार दुध उत्पादन हुने गरेको छ भने ८ हजार लिटर दुध जिल्लामै खपत हुने गरेको पनि अध्यक्ष पाण्डेले बताउनु भयो ।
बाँकी १६ हजार लिटर दुध उद्योगहरुले खरिद गर्दै आएका थिए । तर उद्योगले नै मिल्क होलीडे गरेपछि किसानले उत्पादन गरेको दुध के गर्ने भन्ने अन्यौल सिर्जना भएको उहाँले बताउनु भयो ।
रुपन्देहीबाट दुध उठाउँदै आएको सुजल डेरी, चितवन मिल्क उद्योग बन्द भएका छन् । बन्द भएका उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउने हो भने पनि तत्कालको समस्या समाधान हुन्छ, त्यसपछि तत्कालै दीर्घकालिन समाधानको पनि खोजी गर्न सरकारले तदारुक्ता देखाउनु पर्ने दुग्ध सहकारी संस्थाहरुको मत छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीले दुग्ध व्यवसायमा परेका समस्या र चुनौती विषयमा सरोकारवालासंग बुटवलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा मिल्क होलीडेको समस्यासंग जुधिरहेका किसानलाई आफूले बिक्रि गरेको दुधको भुक्तानीमा पनि समस्या रहेको बताएका थिए । रुपन्देही जिल्लाका किसानको मात्रै भदौयता विभिन्न उद्योगमा ९ करोड रुपैंया वक्यौता छ । एकातिर वक्यौता नतिर्ने र अर्कोतिर मिल्क होलीडे गर्दा किसान ठूलो मारमा परेका छन् ।

लुम्बिनी दुग्ध विकास आयोजना (डिडिसी)का माधव पाण्डेले बन्द भएका उद्योग सञ्चालन गर्ने हो भने तत्कालको समस्या समाधान हुने बताउनु हुन्छ । दुधको उत्पादनको तुलनामा उद्योग नहुँदा संकलनमा समस्या आएको उहाँको भनाई छ ।
त्यस्तै डेरी उद्योग संघ लुम्बिनीका प्रमुख विक्रम रिजालले उपभोग भन्दा उत्पादन बढी हुदा समस्या आएको बताउनु हुन्छ । उहाँले सरकारको स्वामित्वमा सञ्चालित डिडिसीले नै संकलनमा हात उठाउँदा निजी उद्योगहरुलाई तर्साएको बताउँदै भारत लगायतका देशबाट आउने दुध तथा दुग्धजन्य पदार्थमा नेपाली उत्पादनको भन्दा गुणस्तर राम्रो र मुल्य पनि न्यून भएका कारण पनि नेपाली उत्पादनको खपतमा कमी आएको उहाँको बुझाई छ ।
नेपाली दुधमा किसानले पाउने मुल्य र उपभोक्ताले तिर्ने मुल्यमा धेरै फरक छ । पूर्वकर्मचारी तुलसीराम भण्डारीका अनुसार अहिले यो अन्तर एक लिटरमा सरदर ३६ रुपैंंया छ । उहाँका अनुसार अहिलेको समस्याको एउटा कारण यो पनि हो । लुम्बिनी प्रदेश सरकारले प्रदेशको भूगोल अनुसार बाँके, कपिलबस्तु र रुपन्देहीमा तीन वटा धुलो दुध उद्योग खोल्ने योजना थियो । यो योजना अनुसार काम भएको भएपनि समस्या आउने थिएन ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठकले प्रतिस्पर्धामा गुणस्तरमा राम्रो र कम मुल्यमा उपभोग गर्न पाउनु पर्ने उपभोक्ताको अधिकार भएको बताउनु भयो । उहाँले उत्पादन भएको दुधको वैकल्पिक उत्पादन पनि गर्न सकिने कुरालाई लत्याएर दुध पोख्ने काम राम्रो नभएको भनाई राख्नुभयो ।