गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले पालिकाको विकासका काम मात्रै होईन, त्यहाँका नागरिकको सहारा पनि बन्नु भएको छ । पालिकाका नागरिकलाई दुःख विरामी पर्दा तत्कालै सहयोग गर्ने र उपचारलाई हौसला प्रदान गर्दै आउनु भएका अध्यक्ष कुँवरले आफूले पालिकाबाट पाउने सेवा सुविधा पावतको पैसा दुःखी गरिवको उपचारमा लगाउनु भएको हो ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनु भएका कुवँरले पालिकाको अध्यक्षमा निर्वाचित भएपछि आफूले पाउने सेवा सुविधा वापतको पैसा पार्टी समितिको निर्णयमा खर्च गर्नेगरी छुट्टै खाताको व्यवस्था मिलाउनु भएको छ । त्यसरी पार्टीको खातामा आएको पैसा पार्टी समितिले निर्णय गरेर वितरणको व्यवस्था मिलाईएको र सोही अनुसार पालिकाबासीलाई दुःख विमार पर्दा सहयोग गर्ने गरिएको अध्यक्ष कुवँरले बताउनु भयो ।

उहाँले पछिल्लो पटक वडा नं. ६ चुदारा टोल निवासी हुमबहादुर चुदाराको उपचारको लागि २० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको छ । अध्यक्ष कुँवरले शुक्रबार हुबहादुरको घरमै पुगेर उक्त सहयोग प्रदान गर्नुभएको हो ।
मजदुरी गर्न जाँदा गत माघ २७ गते लडेर खुट्टा भाँचिएपछि पाल्पाको मिसन अस्पतालमा उपचार गरेर फर्किएका हुमबहादुरको घरको आर्थिक अवस्था एकदमै कमजोर रहेको र घरमा श्रीमती समेत सुत्केरी रहेकाले जीविकोपार्जनमा केही भएपनि राहत होस भनेर सहयोग गरिएको अध्यक्ष कुवँरले बताउनु भयो । ‘खुट्टा भाचिएका हुमबहादुरलाई स्वास्थ्य लाभको सन्देश दिन जाँदा घरमा दर्दनाक अवस्था देखियो, मजदुरी गरेर परिवारको लालनपालन गरेका हुमबहादुरको खुट्टा भाचिएपछि काम गर्ने अवस्था छैन, घरमा सुत्केरी श्रीमती, धेरै सन्तान ।’ उहाँले भन्नुभयो–‘घरको अवस्था दर्दनाक थियो, केही भएपनि राहत होस भनेर सहयोग गरेका हौं ।’
हुमबहादुरको दैनिक ज्याला मजदुरी बाहेक अरु आम्दानीको स्रोत छैन । अध्यक्ष कुँवरले यस अगाडि पनि धेरै विपन्न तथा गरिव परिवारका विरामीको उपचारमा आर्थिक सहयोग प्रदान गर्दै आउनु भएको छ ।