काँग्रेसबाट बनेका पदाधिकारी हटाउन भूमिसम्बन्धि आयोग नै खारेज

1.3K

काँग्रेसबाट बनेका पदाधिकारी हटाउन भूमिसम्बन्धि आयोग नै खारेज

सत्ता गठबन्धन बदलिएपछि काँग्रेसबाट बनेका पदाधिकारी हटाउन सरकारले भूमिसम्बन्धी आयोग नै खारेज गरिदिएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नको लागि गठन गरिएको भूमिसम्बन्धी आयोगलाई मन्त्रिपरिषद बैठकले खारेज गरिदिएको हो ।
आयोगले १ लाख ३ हजार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदन लिइसकेको र तीमध्ये कतिपयलाई लालपुर्जा वितरणको तयारी गरिरहेको बेलामा नयाँ आयोग गठन गर्नेगरी काम गरिरहेको आयोगलाई खारेज गरिदिएको हो ।
गठन आदेश र नियमावलीको व्यवस्थाअनुसार पुनर्गठन गर्न नमिल्ने भएका कारण तत्कालै अर्को भूमिसम्बन्धि आयोग गठन गर्नेगरी काम गरिरहेको आयोगलाई खारेज गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराउनु भएको छ ।
सरकारले खारेज गरेको राष्ट्रिय भूमि आयोग तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ भदौको अन्तिममा गठन गरेको थियो । यो आयोगमा काँग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताहरुलाई नियुक्त गरिएको थियो । काँग्रेस माओवादीको गठबन्धन भत्किएर एमाले माओवादी केन्द्रको सत्ता गठबन्धन बनेपछि पुरानो गठबन्धन सरकारले गठन गरेको आयोग खारेज भएको हो ।