लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराले लिए शपथ : चार सदस्यीय मन्त्रीपरिषद गठन

1.3K

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराले लिए शपथ : चार सदस्यीय मन्त्रीपरिषद गठन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री महरालाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।
त्यस्तै मुख्यमन्त्रीको सिफारिसमा अरु तीन मन्त्रीले पनि शपथ लिएका छन् । शुक्रबार मात्रै मुख्यमन्त्रीमा नियुक्त महराको सिफारिसमा एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरले बिनाविभागीय मन्त्रीको शपथ लिनुभएको हो । शपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री लिला गिरी लगायतका नेताहरु सहभागि हुनु भएको थियो ।
केन्द्रमा सत्ता समिकरण बदलिएसंगै लुम्बिनीका मुख्यमन्त्री नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरीले राजीनामा गरेसंगै दुई भन्दा बढी दलको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता महरा शुक्रबार मात्रै मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
शपथ ग्रहण लगत्तै प्रतिक्रिया दिदै मुख्यमन्त्री महराले मन्त्रीपरिषदको आकार बढ्नसक्ने संकेत गर्नुभएको छ । उहाँले धेरै दलहरु मिलेर बनेको सरकार भएकोले सबैले खोजेजस्तो सानो आकारको मन्त्रीमण्डल बन्न नसक्ने प्रतिक्रिया दिनुभएको हो । यस अगाडि मन्त्रीपरिषदको संख्या ११ सदस्य थियो । मुख्यमन्त्री महराले आजै पदभार ग्रहण गर्नुभएको छ ।