नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउनको लागि पार्टी कार्यकर्तालाई आपसी मतभेद छाडेर एक हुन आग्रह गर्नुभएको छ । उहाँले एकजुट भएर पार्टी निर्माणमा लाग्नको लागि पनि कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सहिद यादवनाथ आलोक स्मृति केन्द्रले रुपन्देहीको तिलोत्तमा टिकुलीगढको बनकट्टीमा निर्माण गरेको सहिद यादवनाथ आलोकको पूर्णकदको शालिक बुधबार अनावरण गर्दै सभापति देउवाले सहिदको योगदानले नेपाली काँग्रेस यहाँसम्म आएको बताउनु भयो । उहाँले सहिदहरुले गरेको त्याग र बलिदानले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्याउन सकिएको बताउँदै सहिदहरुको बलिदानीलाई सधै सम्मान गर्नुपर्ने भनाई राख्नुभयो ।
नेपाली काँग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउदै उहाँले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न पनि आग्रह गर्नुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । देउवाले काँग्रेसलाई ठूलो मात्र नभइ बहुमत ल्याउने पार्टी बनाउनेगरी लाग्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘साथीहरु ध्यान दिनुपर्ने कुरा के छ भने अहिलेको बेला हाम्रो पार्टी एक भएर हिड्नुपर्ने अवस्था आएको छ, एकआपसमा जे–जति मतभेदहरु छन्, ती सबैलाई थाती राखेर भए पनि पार्टीलाई एकताबद्ध बनाउन आवश्यक छ, पार्टीलाई ठूलो दल मात्रै नभई बहुमत ल्याउने दल बनाउन आवश्यक छ, त्यसमा तपाईहरु सबै लाग्नुहोस् ।’
त्यस अवसरमा उहाँले सहिद यादवनाथ आलोक स्मृति केन्द्रले निर्माण गरेको लाईव्रेरी भवनको उद्घाटन तथा संस्थाको चौथो अधिवेशनको समेत उद्घाटन गर्नुभएको थियो ।
त्यस अगाडि उहाँले नेपाली काँग्रेस क्षेत्र नं. ३ ले आयोजना गरको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा समेत सहभागि हुनु भएको थियो भने दिउसो नेपाल शिक्षकसंघको कार्यक्रममा सहभागि हुनु भएको थियो ।