अपराधि जोगाईराखे प्रधानमन्त्रीमाथि पनि छानविन गर्नुपर्ने हुन्छ : महर

1.3K

अपराधि जोगाईराखे प्रधानमन्त्रीमाथि पनि छानविन गर्नुपर्ने हुन्छ : महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिनुभएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई लुकाउने र चोख्याउने प्रयास गर्दै आएको दाबी गर्दै त्यस्तो कार्य जारी राखे प्रधानमन्त्रीमाथी पनि छानबिन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनु भएको हो ।
सरकार समग्र संवैधानिक निकायलाई कब्जामा लिएर आफू अनुकूल निर्णय गराउने दुस्प्रयास गरिरहेको भन्दै नेता महरले वर्तमान सरकारबाटै कानुनी शासनको उपहास भईरहेको आरोप लगाउनु भयो ।
सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रबी लामिछानेमाथि छानविनको माग गर्दै महरले यस विषयमा सरकारले नजरअन्दाज गर्नु प्रधानमन्त्री प्रचण्डका लागि पनि घातक हुनसक्ने भनाई राख्नुभयो ।
सत्तामा रहेका दलहरु सहकारीका ठगहरुलाई कारबाही गर्नभन्दा सत्ता बचाउने तर्फ केन्द्रीत रहेको आरोप लगाउँदै उहाँले ‘सरकार रुल अफ ल’को विपक्षमा लागेकाले प्रधानमन्त्री प्रचण्डमाथि पनि छानविनको प्रक्रिया अघि बढ्न सक्ने बताउनु भयो ।
यसैगरी संसद सुचारू गर्ने विषयमा काँग्रेस लचकता अपनाउन तयार भएपनि रबी लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान कायम रहेको बताउनु भयो ।
गठबन्धन बिना पनि पार्टीलाई अघि बढाउन सकिने दाबी गर्दै उहाँले काँग्रेसले अब प्रतिपक्षमै बसेर पार्टी जीवनलाई सुधार गर्नुपर्ने पक्षमा आफू रहेको उल्लेख गर्नुभयो ।