यो वर्ष देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने जल तथा मौषम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले वर्षासंगै तापक्रम पनि बढ्ने पूर्वानुमान गरेको हो ।
दक्षिण एसियाली जलवायु फोरम र अन्तर्राष्ट्रिय विज्ञहरुको विश्लेषणका आधारमा सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको उत्तर–पूर्वी भूभागमा अधिकतम तापक्रम तथा सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशका थोरै भूभागमा न्यूनतम तापक्रम सरदर रहने सम्भावना छ ।
वर्षा धेरै हुँदाहुँदै बढ्नुलाई तापक्रम बढ्नुलाई राम्रो संकेत मान्न सकिँदैन । ‘वर्षा पनि सरदरभन्दा बढी र तापक्रम पनि सरदरभन्दा बढी हुँदा मौसमी घटनाहरु धेरै व्यहोर्नुपर्छ कि भन्ने अनुमान गर्न सक्छौं । त्यसैले चनाखो हुनुपर्ने देखिन्छ ।’ विभागका वरिष्ठ मौसमविद सुदर्शन हुमागाले भन्नुभएको छ ।
सामान्यतया नेपालमा १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । दक्षिणपूर्वी वायुसहितको प्रणाली पूर्वी नेपालबाट प्रवेश गर्छ र पानी पर्न सुरु हुन्छ । यो प्रणाली मध्य भूभाग हुँदै पश्चिमसम्म फैलिन्छ । पूर्वी वायुलाई पश्चिमी वायुले विस्थापित गरेपछि मनसुन पनि बाहिरिएको मानिन्छ ।
सम्बन्धित ठाउँको ३० देखि ४० वर्षको अवधिमा परेको वर्षाको तथ्याङ्कको आधारमा औसत वर्षाको मात्रा निकालिन्छ । ११० प्रतिशतभन्दा बढी वर्षा भएमा औसतभन्दा बढी भएको मानिन्छ । मनसुनी अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत पानी पर्दछ । मनसुन अवधिमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्छ ।
यस वर्ष बढी डढेलो लागेका कारण बाढी र पहिरोको जोखिम पनि धेरै छ । डढेलो लाग्दा जमिन सुक्खा हुने, चिरा पर्ने र पानी सोस्ने क्षमता घट्ने भएकाले बाढी पहिरोको जोखिम पनि बढी छ । जल तथा मौसम विज्ञान विभागले मनसुन प्रक्षेपण जारी गरेपछि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमका क्षेत्र र हुनसक्ने क्षतिको आँकलन गर्दछ । अहिले प्राधिकरण त्यसकै तयारीमा रहेको प्राधिकरणका कर्मचारी बताउँछन् । नेपालमा बाढी, पहिरो र भारी वर्षा मनसुनजन्य प्रमुख विपद हुन् ।