सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
अपराह्न ३ बजे बस्ने बैठकका सम्वन्धमा सभामुख देवराज घिमिरेले साढे १२ बजे राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै हुनुहुन्छ । त्यस्तै १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाईएको छ ।
सरकारले वार्षिक बजेट ल्याउनु अघि संघीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । नेपालको संविधानको धारा, ९५ बमोजिम मन्त्रीपरिषदको सिफारिसमा दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।
उपप्रधान तथा गृहमन्त्री रविलामिछाने माथि उठेको सहकारी अपचलनको छानविनको लागि संसदीय छानविन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरोध गर्दै आएको थियो । तर राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा काँग्रेस लचिलो भएको छ । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा अवरोध नगर्ने काँग्रेस संसदीय दलको आजै बैठकले निर्णय लिएको छ ।