सहकारीको अस्तित्व नै संकटमा : समस्या समाधानका लागि छुट्टै ऐन बनाईँदै

1.3K

सहकारीको अस्तित्व नै संकटमा : समस्या समाधानका लागि छुट्टै ऐन बनाईँदै

सहकारीमा सर्वसाधारणको वचत अपचलन बढ्दै गईरहेको समस्या समाधानको लागि छुट्टै एने निर्माण गर्न लागिएको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मित्रलाल दवाडीले बताउनु भएको छ ।
उहाँले सहकारीको सिद्धान्त, मर्म र भावनालाई आत्मसात नगर्ने सहकारीमा मात्रै समस्या देखिएको बताउँदै सहकारीको मुल्यमान्यता, सिद्धान्त र प्रचलित कानुनलाई आत्मसात गरेर सञ्चालन भएका सहकारीहरूमा समस्या नदेखिएको बताउनु भयो ।
सहकारी विभागको आयोजना तथा जिल्ला सहकारी संघ रुपन्देही र बचत तथा ऋण सहकारी महासंघ (नेफ्स्कुन)को संयोजनमा शनिबार बुटवलमा गरिएको सहकारी क्षेत्रको विद्यमान समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सहकारीको प्रणालीकरण र निजिकरणका कारण समस्या देखापरेको उल्लेख गर्नुभयो ।

वित्तीय अनुशासन कायम गर्ने र सदस्य बाहेकलाई ऋण लगानी नगर्ने हो भने पनि सहकारीमा समस्या नआउने भन्दै उहाँले सहकारीको मुल्यमान्यता र प्रचलित काुननको पालना, पारदर्शिता, वित्तिय अनुशासन कायम गर्न र सदस्य केन्द्रित गतिविधि सञ्चालन गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो ।

सहकारी बिभागका रजिस्ट्रार पिताम्बर घिमिरेले समग्र सहकारीमा देखा परेका समस्या समाधान गर्ने बिषयमा विभागले सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल गरिरहेको भन्दै सहकारीको सिद्धान्तलाई सबैले आत्मसात गर्नुपर्ने भनाई राख्नुभयो । मुलुकले अंगिकार गरेको तिन खम्बे अर्थनीतिको प्रमुख खम्बा सहकारीको अस्तित्व नै संकटमा पर्ने हो की भन्नेगरी समस्या उत्पन्न भएको बताउँदै उहाँले यसको सुधारका लागि नीतिगत, कानुनी व्यवस्था र व्यवहारिक कुराहरुमा सुझाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थाको नेतृत्व गर्नेहरूमा सहकारी सञ्चालन सम्बन्धि ज्ञान हुनु जरुरी रहेको भन्दै वित्तीय अनुशासन कायम गर्न नसक्दा सहकारीमा समस्या देखिएको उल्लेख गर्नुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष वसन्त ढकालले जनप्रतिनिधि नै सहकारीमा रहदा समस्या देखिएको बताउदै सहकारी नियमनको जिम्मेवारी जिल्ला तहलाई दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहकारी अभियन्ता भिम तुलाचन, कृष्ण नेपाल, खगराज पौडेल, गोपाल पौडेल, रामप्रसाद पौडेल, सीता न्यौपाने, भरत भुसाल, तिलकराम पौडेल, चिरञ्जीवी जोशी, प्रकाश भट्टराई, पत्रकार कबिन्द्र नेपाललगायले नियामक निकायले अनुगमनमा कडाइ नगर्दा सहकारीमा समस्या देखापरेको भन्दै अनुगमन र नियमनलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सचिव दवाडीका अनुसार नपालमा २०१३ सालमा बखान सहकारीबाट सुरु भएको सहकारी अभियान अन्तरगत हाल ३१ हजार ३७३ वटा दर्ता भएका छन् । नियमित रुपमा दर्ता र खारेजी भईरहने भएकाले यो संख्या थोरै घटबढ हुन सक्ने उहाँको भनाई छ । ती सहकारीमा ७४ लाख सदस्य आवद्ध छन् । त्यस्तै सहकारीमा ९४ अर्व रुपैंया बढी शेयर पुँजी छ । त्यसैगरी सवा ४ खर्ब बढी कर्जा प्रवाह भएको पनि उहाँले जानकारी गराउनु भयो । त्यस्तै सहकारीमा ९४ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।